बागमती: जीवनका सबैभन्दा अमूल्य दुई सहारा गुमाएकी आमा वर्तमाया रखालको जीवनमा एउटा नयाँ खुसी थपिएको छ। जनयुद्धका क्रममा दुई छोरा गुमाएकी उनलाई अब आफ्नै घरको ओत मिलेको छ। मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनीस्थित सहिद परिवार वर्तमाया रखाललाई एक नेपाली कम्युनिष्ट पार्टी मकवानपुरले नवनिर्मित घर हस्तान्तरण गरेको छ।

शुक्रबार घर हस्तान्तरणसँगै पार्टीले राष्ट्रिय जागरण अभियानसमेत सुरु गरेको हो। वर्तमायाका लागि यो घर केवल इँटा, ढुङ्गा र सिमेन्टले बनेको संरचना मात्र होइन, जीवनका अनेक दुःख र अभावबीच प्राप्त एउटा नयाँ सहारा हो। जनयुद्धका क्रममा उनले आफ्ना दुई छोरा अर्जुन रखाल ‘सविन’ र दिलबहादुर रखाल `निरन्तर´लाई गुमाएकी थिइन्। परिवारको दुःख अझ गहिरियो, जब उनका श्रीमान् भीम रखालको पनि गत वर्ष निधन भयो।
दुई छोरा र श्रीमान् गुमाएकी वर्तमायाको जीवनमा आइपरेको पीडा सहजै शब्दमा व्यक्त गर्न सकिँदैन। यस्तो अवस्थामा घरको ओत प्राप्त हुनु उनका लागि एउटा महत्त्वपूर्ण सहारा बनेको छ।
सहिदको सपना पूरा गर्ने प्रयास
पार्टीले गत वर्ष जेठमा गणतन्त्र दिवसको अवसर पारेर घर निर्माणको शिलान्यास गरेको थियो। त्यसपछि सुरु भएको निर्माण कार्यमा पार्टीका नेता तथा कार्यकर्ताले श्रमदानसमेत गरेका थिए। सामूहिक प्रयासबाट निर्माण गरिएको घर शुक्रबार वर्तमायालाई हस्तान्तरण गरिएको हो।
बागमती गाउँपालिका अध्यक्ष एवं नेकपाका नेता सर्केश घलानले सहिदहरूको सपना पूरा गर्ने वाचा अनुरूप घर निर्माण गरिएको बताउनुभयो। घर निर्माणमा उहाँले विशेष पहल गर्नुभएको थियो।
पार्टी मकवानपुरको राष्ट्रिय जागरण अभियान र नयाँ घर हस्तान्तरण कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य कुमारी मोक्तान, विजय गौतम, मकवानपुर जिल्ला इन्चार्ज ध्रुव भुजेल, बागमती कमिटी इन्चार्ज ज्ञानसागर लामा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन पार्टी बागमती कमिटीका संयोजक अरुण बलले गर्नुभएको थियो।





















