हेटौंडा — हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथमा मंगलबार र बुधबार रातिको समयमा यात्रा गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले देशभर मनसुनी वर्षा सक्रिय भई भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन आग्रह गर्दै मंगलबार र बुधबार बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म कान्ति लोकपथमा सवारी चलाउन रोक लगाएको हो ।

कार्यालयले जारी गरेको सूचना अनुसार असार १६ र १७ गते अति आवश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ भने ताल, नदी, खोला तथा अन्य जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुंगा चलाउने वा नदी तर्ने जस्ता जोखिमयुक्त गतिविधि नगर्न आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीद्वारा जारी सूचनामा वर्षा र जोखिमको अवस्था हेरी सुरक्षाकर्मीले जिल्लाभित्रका कुनै पनि सडकमा निश्चित समयका लागि आवागमन रोक्न सक्ने भएकाले उक्त कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ ।























