बागमती: पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले युवाको नेतृत्व क्षमता अभिवृद्धि, सामाजिक सहभागिता विस्तार तथा स्थानीय शासनमा युवाको प्रभावकारी भूमिका सुनिश्चित गर्ने उद्देश्यले गाउँपालिकास्तरीय युवा क्लब गठन गरेको छ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा शनिबार आयोजित ‘युवा नेतृत्व तथा क्षमता विकास तथा गाउँपालिकास्तरीय युवा क्लब गठन सम्बन्धी एकदिने कार्यक्रम’ मार्फत १५ सदस्यीय गाउँपालिकास्तरीय युवा क्लब गठन गरिएको हो।
सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष कमान सिंह पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष सर्केश घलान प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीसहित जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न वडाबाट सहभागी युवाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण सरोज विश्वकर्माले गर्नुभएको थियो।
कार्यक्रममा गाउँपालिकाका सबै वडाबाट सहभागी ४५ जना युवालाई नेतृत्व विकास, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, स्थानीय विकासमा युवाको भूमिका तथा संगठित युवा अभियानका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षणपछि सर्वसम्मत रूपमा गाउँपालिकास्तरीय युवा क्लबको कार्यसमिति चयन गरिएको हो।

नवगठित कार्यसमितिको अध्यक्षमा सुजन बज्यू, उपाध्यक्षमा संगीता रसाइली, सचिवमा अप्सरा सेन्चुरी तथा कोषाध्यक्षमा मानबहादुर घलान चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा सिम्रन पाख्रिन, प्रेमा गोले, अञ्जना वाइबा, कृषिका राई, जोसिना राई, निशान घिसिङ, लक्ष्मण थिङ, नेमा थोकर, निराजन स्याङ्बो, महेश सिंतान तथा आर्सी गोले चयन हुनुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष सर्केश घलानले राष्ट्रको भविष्य युवाको काँधमा रहेको उल्लेख गर्दै अनुशासित, जिम्मेवार र सकारात्मक सोच भएका युवाले मात्र समुन्नत समाज निर्माण गर्न सक्ने बताउनुभयो।
उहाँले पछिल्लो समय केही युवाहरू अराजक तथा नकारात्मक गतिविधितर्फ आकर्षित भइरहेका घटनाप्रति चिन्ता व्यक्त गर्दै युवाहरूले आफ्नो ऊर्जा सिर्जनात्मक, उत्पादनमूलक तथा समाज रूपान्तरणका अभियानमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो।
विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले ‘युवा शब्दको व्याख्या गर्दै ‘यु अर्थात् ‘युग र वा अर्थात् वाहक भएकाले युवा भनेको युगको संवाहक हो भन्नुभयो।
उहाँले हरेक युगको परिवर्तन, नवीन सोच, सामाजिक रूपान्तरण र विकासको नेतृत्व युवाबाटै सम्भव हुने उल्लेख गर्दै सकारात्मक सोच, सीप, अनुशासन र सेवाभावका साथ अघि बढ्न युवाहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रमका अध्यक्ष कमान सिंह पाख्रिनले विश्व इतिहासमा अभाव, संघर्ष र कठिन परिस्थितिबाट अघि बढेका व्यक्तिहरूले नै सफल नेतृत्व स्थापित गरेको उदाहरण प्रस्तुत गर्दै वर्तमान पुस्ताका युवाहरूले पनि आत्मविश्वास, निरन्तर सिकाइ र मेहनतका माध्यमबाट हरेक क्षेत्रमा उत्कृष्ट नेतृत्व स्थापित गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले युवालाई अवसरको खोजीमा मात्र सीमित नरही अवसर सिर्जना गर्ने क्षमताको विकास गर्नुपर्नेमा जोड दिनुभयो।
गाउँपालिकाले गठन गरेको गाउँपालिकास्तरीय युवा क्लबले आगामी दिनमा युवाको क्षमता विकास, नेतृत्व अभिवृद्धि, स्वयंसेवा, उद्यमशीलता प्रवर्द्धन, खेलकुद, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा स्थानीय विकासका विविध कार्यक्रम सञ्चालनमा समन्वयकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाका सबै वडाबाट प्रतिनिधित्व हुने गरी ४५ जना युवाको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमलाई स्थानीय तहमा युवाको संस्थागत सशक्तीकरण, नेतृत्व विकास तथा युवामैत्री स्थानीय शासन प्रवर्द्धनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।























