बागमती: मकवानपुरको बागमती गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा एक सफलता प्राप्त गरेको छ। गाउँपालिकाले शुक्रबारबाट १५ शैयाको अस्पताल सञ्चालनमा ल्याएर एक उपलब्धि हासिल गरेको हो।

मकवानपुरको सुदूरपूर्वमा पर्ने बागमती गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पताल संचालनमा आएको छ । बागमती गाउँपालिका-५ मा १८ करोड लागतमा निर्माण गरिएको सहिद स्मृति आधारभूत अस्पतालले शुक्रबारदेखि विरामीको स्वास्थ्य परीक्षण गर्न थालेको हो । तीन वर्षअघि निर्माण सुरु भएको भवनको हालै निर्माण सम्पन्न भएपछि सहिद स्मृति आधारभूत अस्पताल संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताउनुभयो । श्रमदान र निर्माण पक्षलाई विशेष ध्यानाकर्षण गराउँदै भवन समयमा सम्पन्न गरेको घलानले बताउनुभयो। पालिकाले स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता राखेर काम गरेको उहाँले बताउनुभयो
गाउँपालिकाले अस्पताल सञ्चालनका लागि आगामी आर्थिक वर्षमा बजेट नै विनियोजन गरेर सेवा सुरु गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बताउनुभयो । १५ शैया रहेको उक्त अस्पतालमा सुत्केरी सेवा, आँखा परीक्षण, दन्त सेवा, बहिरंग सेवा, खोप सेवालगायत भिडियो एक्सरे, प्रयोगशालासमेतको सुविधा रहेको उहाँले बताउनुभयो ।
हेटौंडाबाट करिब ६० किलोमिटर दुरीमा रहेको अस्पतालमा चिकित्सकसहित १५ जना स्वास्थ्यकर्मी रहेका छन् । यो अस्पताल छिमेकी जिल्ला सिन्धुलीको हरिहरपुरगढी र काभ्रेको खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका बासिन्दालाई पनि पायक पर्नेछन् । ९ वटा वडामा विभाजित बागमती गाउँपालिकाका सबै वडामा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र रहेका छन्।

























