मकवानपुर: उज्यालो नेपाल पार्टीको आयोजनामा मकवानपुरको भीमफेदी गाउँपालिकाका विभिन्न स्थानीय टोलहरूमा ‘उज्यालो संवाद’ तथा नागरिकसँगको छलफल कार्यक्रम सम्पन्न भएको छ।
आइतबार भीमफेदी गाउँपालिका वडा नम्बर १ को मकच्छेबास, बलटोल, किसेडी, जरुङटोल र वडा नम्बर ३ को ज्यालटारमा छुट्टाछुट्टै स्थानमा उज्यालो संवाद कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो। ‘मिसन बागमती’ मार्फत ३ महिने अभियान
संवाद कार्यक्रममा पार्टीका प्रतिनिधिहरूले बागमती प्रदेशभरि सञ्चालन भइरहेको ३ महिने ‘मिसन बागमती’ अभियानबारे प्रकाश पारेका थिए। अभियान अन्तर्गत ३ महिनासम्म निरन्तर जनताको घरदैलोमा पुगेर संवाद गर्ने र संगठन निर्माण तथा सुदृढीकरणमा जुट्ने पार्टीको योजना रहेको छ। सोही क्रममा स्थानीय नागरिकहरूलाई उज्यालो नेपाल पार्टीको सदस्यता समेत वितरण गरिएको थियो।

कार्यक्रममा पार्टीको मुख्य वैचारिक आधार मानिएको ‘हरित क्रान्ति’का बारेमा प्रष्ट पारिएको थियो। नेपालको जल, जमिन, जंगल, जडीबुटी र खनिज पदार्थको सही सदुपयोग तथा उत्खनन गरी नेपाली जनतालाई आर्थिक रूपमा समृद्ध बनाउने कुलमान घिसिङको समृद्धिको मार्गचित्र नै हरित क्रान्ति रहेको नेताहरूले बताए।
पार्टीका श्रद्दय अध्यक्ष कुलमान घिसिङको छवि स्वच्छ, पारदर्शी र भ्रष्टाचारमुक्त रहेकाले समृद्ध र सुशासित नेपाल निर्माणका लागि उज्यालो नेपाल पार्टीमै आबद्ध हुन उपस्थित नागरिकहरूलाई आह्वान गरिएको थियो।

कार्यक्रममा बोल्दै उज्यालो नेपाल पार्टीका नेता चन्द्र तितुङले आफू सुरुवाती दिनदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय रहे पनि पछिल्लो समय राजनीतिक चेतना र स्थिति बुझेपछि कुलमान घिसिङको हरित क्रान्तिको अभियानबाट प्रभावित भई उज्यालो नेपाल पार्टीमा जोडिएको प्रष्ट पार्नुभयो।
यस्तै, अर्का नेता विजय थिङले गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा सीमित साधन-स्रोतका बीच भोट माग्दा समेत जनताबाट अपत्यारिलो र उत्साहजनक मत प्राप्त भएको स्मरण गराउनुभयो। जनताको सोही विश्वासलाई कदर गर्दै अहिले आफूहरू तीव्र रूपमा गाउँ-गाउँमा संगठन निर्माणमा जुटेको उहाँको भनाइ थियो।
उज्यालो नेपाल पार्टी, भीमफेदीको अध्यक्ष आशिष अस्लामीको नेतृत्वमा संचालित तथा थाहा नगरपालिकाका उज्यालो नेपाल पार्टी अध्यक्ष सानोबाबु मोक्तानको विशेष सहभागितामा सम्पन्न उक्त कार्यक्रममा भीमफेदीका स्थानीय नेताहरू भीमबहादुर पाख्रिन, लोक बहादुर घिसिङ, पञ्चलाल घिसिङ, युगेन घलान, मानव तामाङ, चन्द्र तितुङ, विजय थिङ, राजिब तामाङ र महेश्वर रुम्बा लगायतका साथीहरूको सक्रिय उपस्थिति रहेको थियो।
संवाद कार्यक्रमलाई भव्य र प्रभावकारी रूपमा सम्पन्न गराउन अतुलनीय योगदान पुर्याउनुहुने सम्पूर्ण स्थानीय नागरिक, समर्थक तथा शुभचिन्तकहरूप्रति आयोजकका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिएको छ।




















