मकवानपुर: कृषि, वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ ।
मुख्यबाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको जनाएको छ । सरकार–सरकार (जिटुजी) सम्झौताअन्तर्गत भारतबाट आयात हुन लागेको ३० हजार मेट्रिक टन युरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने भएको छ ।
अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत विभिन्न देशबाट एक लाख ८० हजार मेट्रिक टन रासायनिक मलमध्ये ६० हजार मेट्रिक टन डिएपी र एक लाख २० हजार मेट्रिक टन युरिया रहेको छ ।
मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता पाइएमा उजुरी गर्न बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म हटलाइन नम्बर ९७०००९९११३ तथा क्युआर कोडमार्फत गुनासो दर्ता गर्ने व्यवस्था पनि गरेको छ ।























