बागमती गाउँपालिकामा शिक्षक तथा कर्मचारीका लागि एआईसम्बन्धी एकदिने प्रशिक्षण

बागमती, मकवानपुर। बागमती गाउँपालिकाले शिक्षा क्षेत्रमा प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा लेखापालहरूका लागि कृत्रिम बौद्धिकता (Artificial Intelligence–AI) सम्बन्धी एकदिने तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

बागमती गाउँपालिकाको आयोजना तथा कम्प्युटर एसोसिएसन अफ मकवानपुर (क्यान मकवानपुर) को सहकार्यमा आइतबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिकाअन्तर्गतका १२ वटा आधारभूत तथा ५ वटा माध्यमिक विद्यालयका २३ जना शिक्षक तथा सम्बन्धित कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा क्यान एसोसिएसन बागमती प्रदेशका निवर्तमान अध्यक्ष पुष्पराज पुडासैनी, बागमती गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता कमानसिं पाख्रिन, क्यान मकवानपुरका जिल्ला सदस्यहरू उर्मिला सापकोटा र सुलभ सापकोटा लगायतको आतिथ्यता रहेको थियो।

तालिममा कृत्रिम बौद्धिकताको पछिल्लो विकास, यसको व्यावहारिक प्रयोग तथा विद्यालय र स्थानीय तहका दैनिक कार्यसम्पादनमा एआई प्रविधिको उपयोगका विषयमा प्रशिक्षण दिइएको थियो। विशेषगरी शिक्षण–सिकाइलाई प्रविधिमैत्री, प्रभावकारी र सिर्जनशील बनाउने तथा कार्यालयका विभिन्न प्रशासनिक एवं व्यवस्थापकीय कार्य एआईको सहयोगमा कसरी सहज र छिटो सम्पन्न गर्न सकिन्छ भन्ने विषयलाई प्रशिक्षणमा प्राथमिकता दिइएको थियो।

सहभागीहरूलाई एआईको प्रयोगमार्फत पाठयोजना निर्माण, शिक्षण सामग्री तयार गर्ने, विषयवस्तुलाई विद्यार्थीको तहअनुसार सरल बनाउने, प्रश्नपत्र तथा अभ्यास सामग्री निर्माण गर्ने, लेखन तथा सम्पादन गर्ने, कार्यालयीय दस्तावेज तयार गर्ने लगायतका कार्यलाई थप प्रभावकारी बनाउन सकिनेबारे व्यावहारिक रूपमा सहजीकरण गरिएको थियो।

कार्यक्रमका सहजकर्ता एवं प्रशिक्षकका रूपमा सिराज खतिवडा र अभिषेक अधिकारीले प्रशिक्षण दिएका थिए। कार्यक्रमको समग्र सहजीकरण बागमती गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रकाशचन्द्रले गरेका थिए।

पछिल्लो समय शिक्षा तथा सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेका बेला बागमती गाउँपालिकाले एआईसम्बन्धी सीप र ज्ञानलाई विद्यालय तहसम्म पुर्‍याउने उद्देश्यले आयोजना गरेको उक्त प्रशिक्षणलाई सहभागीहरूले उपयोगी र समयसापेक्ष कार्यक्रमका रूपमा लिएका छन्।

प्रविधिको तीव्र विकाससँगै एआईलाई शिक्षण–सिकाइ र कार्यालयीय कार्यसम्पादनको सहायक उपकरणका रूपमा सदुपयोग गर्न सक्ने जनशक्ति तयार पार्नु आवश्यक रहेको भन्दै गाउँपालिकाले आगामी दिनमा पनि यस्ता प्रविधिमैत्री क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

विद्यालयका शिक्षक तथा कर्मचारीलाई एआईको व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले शिक्षण पद्धतिमा नवीनता ल्याउनुका साथै विद्यालय प्रशासन र स्थानीय तहको सेवा प्रवाहलाई थप छरितो, प्रभावकारी र प्रविधिमैत्री बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.