मकवानपुर: नेपाली कांग्रेसकी निवर्तमान केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले १५औँ महाधिवेशनमा पदाधिकारी पदमा उम्मेदवारी दिने बताएकी छन्। उनले महामन्त्री वा उपसभापतिमध्ये एक पदमा उम्मेदवारी दिने तयारी रहेको बताएकी हुन्।
मकवानपुर क्षेत्र नम्बर–२ बाट १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा ८३२ मतसहित निर्वाचित भएपछि डिनाले सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेकाले अब त्यसभन्दा माथिल्लो पदमा उम्मेदवारी दिने बताइन्। ‘सबै नेता र नेतृत्वसँग छलफल भइरहेको छ। महामन्त्री वा उपसभापति पदमा मेरो उम्मेदवारी रहनेछ,’ उनले भनिन्।
१४औँ महाधिवेशनबाट केन्द्रीय सहमहामन्त्री निर्वाचित भएकी डिना पछिल्लो समय विशेष महाधिवेशन पक्षमा उभिएकी थिइन्। हाल उनी कांग्रेसको केन्द्रीय सदस्य छिन्। लामो समय पदाधिकारीको भूमिकामा रहेकी डिनाले आफ्नो पदाधिकारीमा दाबी स्वाभाविक भएको बताउँदै आएकी छन्।
यसैबीच कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ को सभापतिमा रञ्जन कालाखेती र क्षेत्र नम्बर–१ को सभापतिमा सुशान्तकुमार श्रेष्ठ निर्वाचित भएका छन्।























