मयुरधापमा ९ दिने शिव महापुराण हुने

हेटौंडा: मकवानपुरको हेटौंडा–१४ मयुरधापस्थित गुप्तेश्वर महादेव मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले मन्दिर निर्माण तथा विकासका लागि आगामी फागुन ३ गतेदेखि नौ दिनसम्म शिव महापुराण आयोजना हुने भएको छ। समितिले शनिबार पत्रकार सम्मेलन गर्दै विशेष पूजाआजा, भजन–कीर्तन र साँझको गङ्गा आरतीसहित महापुराण सुरु गर्न लागिएको जानकारी गराएको हो।

शिवरात्रीको अवसर पारेर सुरु हुने यो धार्मिक कार्यक्रम **उक्त वडाकै निवासी देवी सुमी मानव (सुमित्रा चौलागाईं)**ले वाचन गर्नेछिन्। भारतका विभिन्न स्थानमा यसअघि पुराण वाचन गरिसकेकी मानवले मकवानपुरमा पहिलो पटक यस प्रकारको धार्मिक कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ।

समितिका अध्यक्ष गीता कार्कीका अनुसार नौ दिनसम्म निरन्तर विशेष पूजा एवं आराधना सञ्चालन हुनेछ। कार्यक्रममा विभिन्न राजनीतिक दल, स्थानीय बासिन्दा तथा भक्तजनहरूको सक्रिय सहभागिता रहोस् भन्ने उद्देश्यका साथ ५१ सदस्यीय विशेष कार्यसमिति गठनको तयारी भइरहेको उनले जानकारी दिइन्।

अध्यक्ष कार्कीले मन्दिर क्षेत्रका विगतका विवादका विषयलाई पर राख्दै, “निस्वार्थ भावनाले सबै मिलेर यस महापुराणलाई सफल बनाउनेछौँ,” भन्दै आनकानी, छलकपट वा लोभलालचका उद्देश्यले आउने व्यक्तिलाई पहिचान गरी व्यवस्थापन गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रमका विशिष्ट अतिथि तथा जनज्योति माविका व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र ढुंगानाले गुप्तेश्वर मन्दिर विगतदेखि विवादमा परे पनि धार्मिक कार्यक्रमले यसको पहिचान पुनःस्थापित गर्न मद्दत पुर्‍याउने बताए। उनले मन्दिरको सार्वजनिक जग्गा कसरी निजीधनीको नाममा पुगेको विषय अझै स्पष्ट नभएको बताएर पत्रकारलाई अनुसन्धानमार्फत तथ्य बाहिर ल्याउन अनुरोध गरे।

त्यस्तै समाजवादी पार्टीका प्रतिनिधि मोहनसिंह लामाले मन्दिर सबैको आस्थाको केन्द्र भएकाले विवाद समाधान गर्न संवाद नै उत्तम मार्ग भएको टिप्पणी गरे।

समितिका सचिव कृष्ण बहादुर थपलियाले मन्दिर दर्ता प्रक्रिया २०८२ असोज २ गते औपचारिक रूपमा सम्पन्न भइसकेको र हाल सरकारी स्वामित्वका करिब ७ कट्ठा क्षेत्रफललाई आधार मानेर संरक्षण र निर्माण कार्य अघि बढाइरहेकाले विगतका जग्गा विवाद दोहोर्‍याउन नचाहने प्रष्ट पारे।

धार्मिक, सामाजिक र राजनीतिक विभिन्न क्षेत्रका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको कार्यक्रमसमेत सम्पन्न भएको समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.