बागमती: मकवानपुरको बागमती गाउँपालिकामा नेपाली कांग्रेसको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। शनिबार बागमती गाउँपालिका–६ स्थित ठूलोगाउँ क्लब भवनमा कार्यक्रम सम्पन्न भएको हो।
नेपाली कांग्रेस बागमती गाउँपालिका सभापति चोकबहादुर ठाडाको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य बुद्ध लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।
कार्यक्रममा बागमती प्रदेश सदस्य भक्त राई, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा मकवानपुरका नेता आनन्द पराजुली, जिल्ला सचिव ईश्वर पाठक, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा कांग्रेस मकवानपुर अनुशासन विभाग संयोजक प्रभातकुमार दाहाल, निर्वाचन क्षेत्र नम्बर १ का सभापति सुशान्त श्रेष्ठ, क्षेत्र नम्बर २ का सभापति एवं कैलाश गाउँपालिका अध्यक्ष लोक मोक्तान र मकवानपुर-१ सभापति शंकर कुमार पराजुली लगायत नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूलाई नेपाली कांग्रेस बागमती गाउँपालिकाकी उपसभापति अप्सरा थोकरले स्वागत मन्तव्यसहित स्वागत गर्नुभएको थियो। बागमती प्रदेश प्रतिनिधि तथा निवर्तमान गाउँपालिका सभापति एवं गाउँपालिका उपाध्यक्ष फणीन्द्रकुमार तिमल्सिनाले शुभदीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेस बागमतीका ९ वटै सभापतिहरूको परिचय गराउँदै शुभकामना आदानप्रदान गरिएको थियो।
यसैबीच, कार्यक्रममा बागमती गाउँपालिका–७ बाख्रेका नेपाली कांग्रेसका क्रियाशील सदस्य बलबहादुर रुम्बाको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको पार्टी पालिका सचिव सुदीप पाख्रीनले बताउनुभयो । ब्लड क्यान्सरबाट पीडित रुम्बाको काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोगी मनहरूबाट संकलित २३ हजार रुपैयाँ रुम्बाकी श्रीमतीलाई गाउँपालिका सभापति, गाउँपालिका उपाध्यक्ष फणीन्द्रकुमार तिमल्सिना र वडा नम्बर ७ का अध्यक्ष उत्तरबहादुर भोलनले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो।





















