हेटौंडा: मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम राजमार्गमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
आज सोमबार दिउँसो करिब २ः५० बजे तनहुँस्थित नम्बर २ राजदल गणको कमाण्डमा धनुषातर्फ जाँदै गरेका चार वटा सेनाका ट्रकमध्ये लु १ ग २८० नम्बरको ट्रक दुर्घटनामा परेको हो । उप सेनानी हर्ष विक्रम अधिकारीको कमाण्डमा रहेको उक्त ट्रकमा २२ जना सवार थिए ।
ट्रक सिमानाको पुलबाट करिब १०–१२ फिट तल खोल्सामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनापछि मकवानपुर प्रहरीका नायब उपरीक्षक श्यामु अर्याल, इलाका प्रहरी कार्यालय पशुपतिनगर, प्रहरी चौकी रातोमाटे र बाराको अमलेखगंजबाट प्रहरी टोली खटिएको थियो ।
घाइतेलाई सेनाको सहयोगमा उद्धार गरी हेटौंडा अस्पताल पठाइएको छ । मकवानपुर प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काको कमाण्डमा थप टोली समेत अस्पतालमा खटाइएको छ ।
उक्त दुर्घटनामा घाइते भएका १६ जना मध्ये ३ जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सबै घाइते नेपाली सेनाको युनिफर्ममै रहेका थिए ।

























