तामाङ मातृभाषा सम्भोटा लिपि सम्बन्धी पाँच दिवसीय शिक्षक प्रशिक्षण सम्पन्न

बागमती: मकवानपुरको बागमती गाउँपालिकामा आयोजना भएको तामाङ मातृभाषा सम्भोटा लिपि सम्बन्धी पाँच दिवसीय शिक्षक प्रशिक्षण कार्यक्रम” शुक्रबार सम्पन्न भएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम तथा सामग्री शाखा, सानोठिमी भक्तपुरको आयोजना तथा बागमती गाउँपालिका, मकवानपुरको समन्वय र सहकार्यमा सञ्चालित उक्त कार्यक्रम जेठ ११ गतेदेखि सुरु भएको थियो।

बागमती गाउँपालिका अन्तर्गतका २५ जना शिक्षक तथा दुईवटा गुम्बाका प्रशिक्षार्थी सहभागी रहेको उक्त तालिममा तामाङ मातृभाषा, सम्भोटा लिपिको प्रयोग, पाठ्यवस्तु अध्यापन विधि, व्यवहारिक शिक्षण सीप तथा मातृभाषा शिक्षाको प्रभावकारी कार्यान्वयनसम्बन्धी विविध विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। पाँच दिवसीय तालिमको सहजीकरण प्रशिक्षक सिंह बहादुर योञ्जन तामाङ र सुन्दर योञ्जनले गरेका थिए।

समापन कार्यक्रममा वक्ताहरूले नेपालको संविधानले सुनिश्चित गरेको मातृभाषामा शिक्षा प्राप्त गर्ने अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न स्थानीय तह, विद्यालय र शिक्षकबीचको समन्वय अपरिहार्य रहेको धारणा व्यक्त गरे। विशेषगरी तामाङ समुदायको बाहुल्यता रहेको बागमती गाउँपालिकाले कक्षा १ देखि तामाङ मातृभाषा सम्भोटा लिपिमा पठनपाठन सुरु गर्नु उदाहरणीय र ऐतिहासिक कदम भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा शिक्षकहरूको भूमिका सबैभन्दा महत्वपूर्ण रहने उनीहरूको भनाइ थियो।

वक्ताहरूले मातृभाषा शिक्षा केवल भाषिक अभ्यास नभई समुदायको इतिहास, संस्कृति, पहिचान र सभ्यताको संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गरे। उनीहरूले मातृभाषामा शिक्षणले बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गर्नुका साथै आत्मपहिचान र सांस्कृतिक गौरवलाई समेत सुदृढ बनाउने विश्वास व्यक्त गरे।

प्रशिक्षार्थीहरूले तालिम अत्यन्त उपयोगी, उपलब्धिमूलक र प्रेरणादायी रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूले पाँच दिने तालिमले आधारभूत ज्ञान तथा व्यवहारिक सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याए पनि विषयगत दक्षता अभिवृद्धिका लागि थप उन्नत तथा दीर्घकालीन तालिम आवश्यक रहेको औंल्याएका छन्। साथै मातृभाषा शिक्षाको विस्तार र प्रभावकारी कार्यान्वयनमा आफूहरू थप प्रतिबद्ध र उत्साहित बनेको बताएका छन्।
कार्यक्रमको सञ्चालन तथा सहजीकरण बागमती गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रकाश चन्दले गर्नुभएको थियो।

स्थानीय तह र संघीय निकायबीचको सहकार्यमा सञ्चालन भएका यस्ता कार्यक्रमले मातृभाषा शिक्षाको संस्थागत विकास, भाषिक विविधताको संरक्षण तथा भावी पुस्तामा सांस्कृतिक पहिचान हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

बागमती गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक कमान सिं पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखाका निर्देशक तथा सूचना अधिकारी निम प्रकाश सिंह राठौर, निर्देशक निलकण्ठ ढकाल तथा बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शैक्षिक योजना तथा विकास महाशाखा तथा शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखाकी शाखा अधिकृत गीता भारती लगायतकाको अतिथ्यता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.