चैत्र ०४, हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १८ हर्नामाडीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं स्थापना दिवसका अवसरमा आज बुधबार विविध कार्यक्रम गरेको छ ।
सहकारीको आयोजना एवं एन्जल फाउण्डेशन शाखा कार्यालय बाराको प्राविधिक सहयोगमा प्राथमिक स्वास्थ्य उपचार सम्वन्धि सचेतना कार्यक्रमसहित हर्नामाडीमा रहेको टोल विकास संस्थाहरुलाई डस्टबिन वितरण गरेको छ ।
कार्यक्रमको उद्धघाटन गर्दै १८ नंं. वडा अध्यक्ष अनिल कुमार बानियाँले संस्थाले सहि ठाउँमा लगानी गर्दाको परिणामस्वरुप आज जस्तोसुकै स्थितीमा पनि संस्था बलियो बन्न सकेको बताउनुभयो । नेतृत्वतहको लगनशिलतासंगै सदस्यहरुको अथक प्रयासले हर्नामाडीका जनताले सुविधा पाउन सकेको उहाँको भनाई छ ।
१८ नम्बर वडामा १ हजार ३ सय ६५ घरधुरी सर्वेक्षण सम्पन्न गरिएको भन्दै प्रमुख अतिथि बानियाँले उक्त घरधुरीका किसानलाई आगामी बैशाख–जेठभित्र किसान सूचिकरण कार्ड वितरण गरिने जानकारी दिनुभयो । सूचिकरणमा परेका किसानहरुलाई मात्रै अनुदान कार्यक्रम लगायतका अन्य कार्यक्रमहरुमा समावेश गरिने उहाँको भनाई छ ।
संस्थाका अध्यक्ष रेखा खतिवडाले समुदायमा आधारित कार्यक्रमलाई जोड दिने उद्धेश्य अनुरुप स्थापना दिवसका अवसरमा प्राथमिक स्वास्थ्य सम्वन्धि सचेतनासहित १५ वटा टोल विकास संस्थालाई डस्टबिन वितरण गरिएको बताउनुभयो । स्थापना दिवसकै अवसरमा यहि चैत्र १० गते गुप्त रोग पाइल्ससम्वन्धि निशुल्क स्वास्थ्य शिविरसहित उपचारको कार्यक्रम पनि राखिएको उहाँको भनाई छ ।

दिवसकै अवसरमा चैत्र १५ देखि १९ गतेसम्म आफ्ना ९ वटा अन्तर समूह रहेका ५ स्थानमा सहकारी शिक्षा तालिम दिइने पनि अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।
कार्यक्रमकै अवसरमा एन्जल फाउण्डेशनका मार्केटिङ म्यानेजर सुशान्त पाठकले सर्पदंश र त्यसको उपचारका साथै अचानक मान्छेको मुटुको धड्कन बन्द हुँदा दिईने सिपिआर सम्वन्धि प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो ।

वि.सं.२०६७ साल चैत्र ०४ गते स्थापना भएको सहकारीमा १ हजार १ सय ४३ जना सदस्य रहेका छन भने हाल २६ करोडको कारोबार गर्दै आईरहेको संस्थाका व्यवस्थापक माधव पुडासैनीले जानकारी दिनुभयो । १ करोड १७ लाख १० हजार शेयर रकम रहेको संस्थामा जगेडा कोष १ करोड ३८ लाख, बचत ८ करोड ३८ लाख र ऋण लगानी २२ करोड ३५ लाख ८२ हजार रहेको छ । संस्थाद्धारा सञ्चालित दुग्ध डेरीमा दैनिक १ हजार ७ सय लिटर दूध संकलन हुने गरेको छ । सहकारीले मल, बीऊ वितरण, कृषि उपकरण अनुदान सहयोगका साथै बचत तथा ऋणको कारोबार गर्दै आईरहेको छ ।
कार्यक्रममा एन्जल फाउण्डेशनका बारा ईन्चार्ज कमल निरौला, फाउण्डेशनकै प्रशिक्षक ओमप्रकाश कोईराला, सहकारी सल्लाहकार संयोजक केशवराज पण्डित, सल्लाहकार सदस्यहरु चन्द्रकला ढुंगाना, सिता कुमारी बराल, उपाध्यक्ष लक्ष्मी कुमारी श्रेष्ठ, सदस्यहरु चम्पा कुमारी बानियाँ, तेजकुमारी बुढाथोकी, मैया कुमारी श्रेष्ठ, बिमला विसुङ्खे, कुष्णकुमारी हुमागाँई , १५ वटा टोल विकास संस्थाका प्रतिनिधि, ठूलोदमार प्रहरी चौकी प्रमुख मुकेश कुमार गिरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।






















