मकवानपुर: ओपेरा डिजिटलले सोमबार आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत नयाँ नेपाली संगीत भिडियो “के भन्नु र खोइ” सार्वजनिक गरेको छ । गीतमा आश्मान लोप्चन र जितु लोप्चनको स्वर रहेको छ भने संगीत सानु बाबु घिसिङले तयार र व्यवस्थापन गरेका हुन् । भिडियोलाई युद्व लामाले निर्देशन गरेका छन् ।
सार्वजनिक गरिएको भिडियोलाई आकर्षक बनाउन कलाकार विक्रम लुङ्वा, आश्मान लोप्चन र याङ्गी दोङ्ले अभिनय गरेका छन् । उनीहरूको स्टाइलिश पोशाक, रमाइलो नृत्य र भावनात्मक अभिनयले भिडियोलाई रोमान्टिक र आधुनिक बनाएको छ । छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् भने सम्पादन अनिल बिष्ट प्युठानीले गरेका छन् ।
यसै गरी आश्मान लोप्चन तामाङ सेलो क्षेत्रमा ख्यातिप्राप्त गायकका रूपमा परिचित छन् । उनी आफ्नै गाएको गीतमा मोडलिङ गर्ने कलाकारका रूपमा पनि लोकप्रिय छन् । यस गीतमा स्वर दिने अर्की गायिका जितु लोप्चन पनि नेपाली संगीत क्षेत्रमा चर्चित नाम हुन् । यस्तै, विक्रम लुङ्वा भिडियो निर्देशन र गायन दुवै क्षेत्रमा सक्रिय छन् भने मोडल याङ्गी दोङ तामाङ सेलो जगतमा चर्चित अनुहारका रूपमा परिचित छन् ।
आधुनिक संगीत शैली र रोमान्टिक दृश्यको संयोजनले तयार गरिएको भिडियोप्रति दर्शकको रुचि बढ्ने अपेक्षा गरिएको छ । ओपेरा डिजिटलका प्रोप्राइटर विक्रम लुङ्वाका अनुसार, ओपेरा सिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस प्रस्तुति नेपाली संगीतप्रेमीहरूको मन जित्ने उद्देश्यका साथ बजारमा ल्याइएको हो ।























