पुष १५, हेटौंडा / हेटौंडा १८ हर्नामाडीस्थित बंशगोपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८ औं स्थापना दिवस भोजन कार्यक्रम गरी मनाएको छ । संस्थाले हर्नामाडीमै रहेको वैदिक वानप्रस्थ आश्रममा आश्रित १५ जना बटुकहरुलाई आज बिहानको भोजन खुवाएर स्थापना दिवस मनाएको हो ।

संस्थाका अध्यक्ष अरुण कुमार खतिवडाले बिगतका वर्षहरुमा स्थापना दिवसलाई रक्तदानदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेकोमा यस पटक आश्रममा भोजनसहितको कार्यक्रम गर्न पाएकोमा छुट्टै किसिमको आनन्दको अनुभव भएको सुनाउनुभयो । संस्थाले बचत तथा ऋणको कारोबारलाई मात्र ध्यान नदिई यस्तै सामाजिक कार्यहरुलाई समेत संगसंगै अगाडी लगिरहेको र आगामी दिनमा यसलाई व्यापक बनाएर लैजाने समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै गुरुकुलका शिक्षक कृष्ण प्रसाद गर्तौलाले भोजन कार्यक्रमबाट एक छाक भएपनि बटुकहरुले मिठो खाना पाएकोमा धन्यबाद व्यक्त गर्नुभयो। शिक्षक गर्तौलाका अनुसार आश्रममा झापा, उदयपुर,सर्लाही , बारा, नुवाकोट र मकवानपुरका गरी १५ जना बटुकहरु आवासिय रुपमा अध्ययन गर्दछन् । आवासियसहितको अध्ययन–अध्यापन हुने भएकाले आश्रममा खाना–खाजाको समस्या रहेको उहाँको भनाई छ । संघसंस्थाकै सहयोगबाट बटुकहरुले खाना खान पाइरहेको र सहयोग नभएको खण्डमा खानाको निकै समस्या हुने गरेको उहाँको भनाई छ । साथै उहाँले संघसंस्थाहरुलाई आश्रमको लागि सहयोग गरिदिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा ज्योति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्क रम्तेल, सहकारीका उपाध्यक्ष माधव नारायण तुलाधार, सचिव बरुण खतिवडा, कोषाध्यक्ष इमान बहादुर थापा, लेखा समिति संयोजक कपिल प्रसाद पराजुली, समिति सदस्यहरु, महिला उपसमिति सदस्यहरु, ऋण उपसमिति सदस्यहरु, गुरुकुलका सल्लाहकार केशब पण्डित लगायत गुरुकुल सञ्चालन समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।





















