वंशगोपाल सहकारीले गर्‍यो ११ करोड बढीको कारोबार

कात्तिक १०, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं.१८ मा रहेको वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाले १३ करोडभन्दा बढीको कारोबार गर्ने लक्ष्य लिएको छ । सहकारीको आज सम्पन्न १७ औं बार्षिक साधारणसभामा कोषाध्यक्ष इमान बहादुर थापाले कोषाध्यक्षको प्रतिवेदन पेश गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ मा सहकारीले १३ करोड ४१ लाख ९७ हजार ९ सय ६७ रुपैयाँको कुल कारोबार गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो ।

सहकारीले आगामी आर्थिक वर्षमा कर्जा लगानीलाई वृद्धि गरी ८ करोड ६० लाख पुर्‍याउने, शेयर पुँजी ६१ लाख १८ हजार पु¥याउने, बचत निक्षेपलाई वृद्धि गरी १० करोड ८५ लाख २० हजार ९९७ पुर्‍याउने लक्ष्य प्रतिवेदनमा उल्लेख छ । साधारणसभामा १ करोड २२ लाख ६५ हजार रुपैयाँ बराबरको आगामी वर्षको अनुमानित आय–व्यय समेत प्रस्तुत गरिएको छ । जसमा सबै खर्च कटाएर खुद बचत २० लाख ३७ हजार पु¥याउने प्रतिवेदनमा उल्लेख छ ।

आ.व.२०८१/०८२ मा सहकारीले ११ करोड ६० लाख ९१ हजार १ सय ३९ रुपैयाँको कुल कारोबार गरेको छ । उक्त आ.व. भित्र खुद आम्दानी १ करोड ६ लाख ६ हजार २ सय ४९ रहेको छ भने खुद बचत १८ लाख १५ हजार ६४० रहेको छ । ऋण लगानी ७ करोड १९ लाख ११ हजार ९ सय २३ रुपैयाँ, बचत संकलन ९ करोड ४२ लाख ५३ हजार ९९१ रुपैयाँ र कुल शेयर पुँजी ५८ लाख ३१ हजार ५ सय रुपैयाँ रहेको कोषाध्यक्ष थापाद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

सहकारीले आगामी आर्थिक वर्ष ०८२/०८३ को लागि बचत, ऋण र ब्याजदरतर्फ परिर्वतन गरिने बताएको छ । सबै कर्जा र बचतमा १ प्रतिशत ब्याजदर घटाइएको छ । कोषाध्यक्ष थापाका अनुसार पछिल्लो आर्थिकमन्दी र भर्खरै भएको जेन्जी आन्दोलन लगायतको प्रभावलाई मध्यनजर गरेर नियमित बचत, बाल बचत,ऐच्छिक बचत, दैनिक बचत, जेष्ठ नागरिक बचत, जेष्ठ ऐच्छिक बचत,आवधिक बचततर्फ १ प्रतिशत कर्जा अन्तर्गत साधारण ऋण, धितो/अन्य ऋण, आवधिक बचत धितो ऋण र आकस्मिक बिरामी कर्जामा १ प्रतिशत ब्याजदर घटाइएको छ ।

साधारणसभामा सचिवको प्रतिवेदन पेश गर्दै सचिव बरुण कुमार खतिवडाले आगामी आर्थिक वर्षमा ऋणको सिमालाई १५ लाख सम्म पु¥याउने बताउनुभयो । जसमा शेयर रकम २० हजार पु¥याई शेयर सदस्य संख्या १२०० पुर्‍याउने लक्ष्य लिएको छ । सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा पौष ३ गतेदेखि १७ गतेभित्र र चैत्र २० गते पर्ने राष्ट्रिय सहकारी दिवसलाई मध्यनजर गर्दै चैत्र ५ गतेदखि २० गतेभित्र शेयर सदस्य सदस्यता शुल्क नलिने उहाँको भनाई छ ।

सामाजिक कर्जामा १५ प्रतिशत, घरायसी कर्जामा ३५ प्रतिशत, आयआर्जन कर्जामा ५० प्रतिशत लगानी गरिने, असल ऋणीहरुलाई तीन वर्षको कारोबार हेरेर ग्रीन कार्डको व्यवस्था गरिने, कालोसूचिमा परेका ऋणीहरुलाई कर्जा चुक्ता गर्न चाहेमा हर्जानामा ६० प्रतिशत छुट दिने व्यवस्था गरिने प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष अरुणकुमार खतिवडाले सहकारीमा पारदर्शिता, ईमान्दारिता र गतिशितलता हुनैपर्ने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा सीपमूलक, आयमूलक तथा सामाजिक कृयाकलापलाई गतवर्षभन्दा थप गरेर कार्य गर्ने अठोट लिएको समेत बताउनुभयो ।

यसैगरी सहकारीका सल्लाहकार एवं कृषि विकास बैंक कान्तिराजपथ हेटौंडाका प्रबन्धक नूर प्रसाद गौतमले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेका सहकारीको साधारणसभा सम्बन्धि निर्देशन, बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्था संञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड २०८२ का विषयमा प्रस्ट्याउनुभयो ।

साधारणसभाकै अवसरमा २६ जुलाई २०२५ मा अजरबैजानको बाकु शहरमा सम्पन्न अन्तराष्ट्रिय बुदो मार्शल आर्टस च्याम्पियनसीपमा ८५ के.जी. तौल समूहमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दै फुलकन्ट्रयाक्ट कराते विधामा स्वर्ण पदक र किक बक्सिङ विधामा कास्य पदक प्राप्त गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशललाई चिनाउन सफल भएकोमा हेटौंडा १८ हर्नामाडी निवासी सुदर्शन खतिवडा र सहकारीकै शेयर सदस्य एंव हेटौंडा १८ निवासी डा. सार्थक पराजुलीलाई दोसल्ला ओढाई सम्मान गरिएको छ । डा. पराजुली हाल हेटौंडा अस्पतालको ईमरजेन्सीमा मेडिकल अफिसरको रुपमा कार्यरत हुनुहुन्छ ।

यसैगरी साधारणसभाका अवसरमा असल बचतकर्तामा प्रमिता महर्जन, असल ऋणीमा केदार बिष्ट, २०८१/०८२ सालको एसईईमा नीजि विद्यालयतर्फ उत्कृष्ट अंक ल्याउने रुबिन पण्डित र सामुदायिक विद्यालयतर्फ पूर्णिमा घिमिरेलाई सम्मान गरिएको थियो ।

 

कार्यक्रममा सहकारीका उपाध्यक्ष एवं ऋण उपसमितिका संयोजक माधवनारायण तुलाधारले ऋण उपसमितिको प्रतिवेदन, लेखा संयोजक कपिल प्रसाद पराजुलीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा सहकारीका सदस्यहरु, सल्लाहकार, ऋणउपसमितिका सदस्यहरु, शिक्षा उपसमिति सदस्यहरु, तथा महिला उपसमितिका सदस्यहरु एवं विभिन्न संघसंस्थाका प्रतिनीधि र शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.