चैत १६ गते, हेटौडा/ हेटौंडा उपमहानगरपालिका वडा नं. १८ हर्नामाडीमा रहेको वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई एकदिने सहकारी अवलोकन भ्रमण गराएको छ । सहकारीले आईतबार हेटौंडाका उत्कृष्ट दुई सहकारीको अवलोकन भ्रमण गराएको हो ।
सहकारी सञ्चालनको पृष्ठभूमिदेखि हालको अवस्था, बचत तथा ऋण लगानीको अवस्था, उद्यमशिलता, नेतृत्वदायी भूमिका, विभिन्न सीपमूलक तालिम र त्यसको प्रभावकारिता लगायतका विषय साथै विशेषत महिलाको नेतृत्वमा सञ्चालित सहकारीका सम्पूर्ण व्यवस्थापन पक्षका विषयमा जानकारी दिने उद्धेश्यले अवलोकन भ्रमण गराईएको वंशगोपाल साकोसका सचिव वरुण कुमार खतिवडाले जानकारी दिनुभयो ।
सहकारीबाट हेटौंडा १२ पदमपोखरीमा रहेको महिला सेवा बचत तथा ऋण सहकारी संस्था र हेटौंडा १५ मा रहेको जनचेतना बचत तथा ऋण सहकारी संस्थामा अवलोकन गरिएको थियो । उक्त अवलोकन भ्रमणमा क्रममा परिचयात्मक तथा छोटो अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै महिला सेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अचला शर्माले आफुहरु कहिले पनि नथाक्ने असल अभ्यासकै कारण सहकारी आज यस स्थानमा उभिन सफल भएको बताउनुभयो । बिना योजना आजसम्म कहिंकतै नजाने उल्लेख गर्दै शर्माले सञ्चालक र व्यवस्थापन टिमबीच सहकारीलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल, भ्रमण तथा सिकाईका अभ्यासलाई निरन्तरता दिइरहेको बताउनुभयो । सोही अभ्यासकै परिणामस्वरुप पटक पटक जिल्लाकै उत्कृष्ट सहकारीको पदक प्राप्त गर्न सफल भएकोमा गौरव महशुस गर्नुभयो । साथै उहाँले यहाँका असल अभ्यालाई वंशगोपाललाई पनि अनुशरण गर्न सुझाब दिनुभयो ।

महिला सेवा साकोसका व्यवस्थापक सुशिला कुमारी वाईवाले सहकारीको पृष्ठभूमि, लगानी, बचत तथा ऋणको अवस्थाका विषयमा जानकारी दिनुभयो । व्यवस्थापक वाईवाले संस्थामा २०८२ फागुनसम्मको विवरण प्रस्तुत गर्नुभयो जसमा ५ हजार ६ सय ९२ जना शेयर सदस्य, शेयर पुँजी ४ करोड २२ लाख ९३ हजार ९००, ऋण लगानी २७ करोड १८ लाख ५ हजार ७ सय ४२, बचत २३ करोड ६९ लाख ४४ हजार ७ सय २४ र कूल सम्पत्ति ३९ करोड ८१ लाख ८८ हजार १ सय ८९ रुपैयाँ रहेको छ । जसमा ९ जना सञ्चालक समिति,३ वटा उपसमिति र ११ जना कर्मचारीहरु रहेका छन् । कार्यक्रममा सहकारीका सचिव कल्पाना रुम्बा, लेखापाल मिना थि∙को उपस्थिति रहेको थियो ।
त्यसैगरी हेटौंडा १५ रातोमाटेमा रहेको जनचेतना साकोसमा गरिएको अवलोकन भ्रमणका क्रममा व्यवस्थापक सावित्री रुम्बाले पनि सहकारीको पृष्ठभूमि, बचत तथा ऋणको कारोबार, सहकारीले गरेका सामाजिक कार्य, सीपमूलक तालिम लगायतका विषयमा जानकारी गराउनुभएको थियो । उक्त सहकारीमा हाल ४ हजार ८ सय २१ जना शेयर सदस्य, शेयर पुँजी ४ करोड ६० लाख ६७ हजार ८००, बचत(निक्षेप) ४२ करोड ६९ लाख २३ हजार ५४२, ऋण लगानी ३७ करोड २९ लाख ९७१ सहित कुल कारोबार ५२ करोड ९८ लाख २१ हजार ७६८ रुपैयाँ रहेको उहाँले बताउनुभयो । सहकारीमा ११ जना कार्यसमिति, ३ जना लेखा तथा सुपरिवेक्षण समिति, २ उपसमिति र १२ जना कर्मचारीहरु रहेका छन् ।
छुट्टा छुट्टै आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष माधव नारायण तुलाधारले सहकारी एवं अवलोकन भ्रमणको उद्धेश्यका विषयमा जानकारी गराउनुभएको थियो ।

वंशगोपाल सहकारीका शेयर सदस्यहरुले अवलोकन भ्रमणबाट धेरै विषयबस्तुबारे जानकारी पाएको बताए । महिलाद्धारा सञ्चालित सहकारी अब्बल हुन सक्छन् भन्ने उदाहरणबाट आफुहरु प्रेरित हुन पाएकोमा भ्रमण आयोजकप्रति धन्यवाद व्यक्त गरे ।

वंशगोपालमा हाल ११ सयबढी शेयर सदस्य रहेका छन् । आ.व.२०८१/०८२ मा सहकारीले ११ करोड ६० लाख ९१ हजार १ सय ३९ रुपैयाँको कुल कारोबार गरेको छ । उक्त आ.व. भित्र खुद आम्दानी १ करोड ६ लाख ६ हजार २ सय ४९ रहेको छ भने खुद बचत १८ लाख १५ हजार ६४० रहेको छ । ऋण लगानी ७ करोड १९ लाख ११ हजार ९ सय २३ रुपैयाँ, बचत संकलन ९ करोड ४२ लाख ५३ हजार ९९१ रुपैयाँ र कुल शेयर पुँजी ५८ लाख ३१ हजार ५ सय रुपैयाँ रहेको छ ।
अवलोकन भ्रमणमा सञ्चालक समितिका सदस्यहरु रिता दुरैली, चन्द्रकला ढुंगाना, प्रेम बहादुर बराल, रिनु कुमारी दोङ, ललिता बानियाँ लगायत शेयर सदस्यगरी २८ जनाको सहभागिता रहेको थियो । शेयर सदस्यहरुलाई पूण्यक्षेत्र, सहिद स्मारक र त्रिवेणी धाममा समेत भ्रमण गराईएको थियो ।

























