मकवानपुर: दशौं धादिङ महोत्सवको अवसरमा गायक तथा संगीतकार चेतनले दिएको प्रस्तुति दर्शकहरूका लागि अत्यन्तै स्मरणीय बन्यो। हजारौं दर्शकको उपस्थितिमा उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै महोत्सवको माहोललाई अझै रंगीन र उत्साहपूर्ण बनाए।
चेतनले कार्यक्रममा “हासी देऊन”, “नाम्चे बजार”, “मुग्लिन झरौन” र “जापनिज साडी” गरी चार वटा लोकप्रिय गीतहरू गाएका थिए। उनका गीतमा दर्शकहरू झुम्दै नाच्न थालेपछि कार्यक्रमस्थलमा छुट्टै उत्सवमय वातावरण सिर्जना भएको थियो। आयोजक पक्षले पनि चेतनको प्रस्तुतिलाई महोत्सवकै उत्कृष्ट कार्यक्रममध्ये एक मानेको छ।
विगत केही समयदेखि विभिन्न मेला, महोत्सव तथा सांगीतिक कार्यक्रममा व्यस्त रहेका चेतन केही दिनभित्रै नयाँ गीत सार्वजनिक गर्ने तयारीमा छन्। उनका नयाँ सिर्जनाहरू प्रति दर्शक तथा श्रोतामाझ ठूलो उत्सुकता देखिएको छ।
संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका चेतन विभिन्न अवार्ड तथा सम्मानबाट सम्मानित भइसकेका छन्। उनले नेपाली संगीतलाई आधुनिक स्वादसँगै मौलिकपनमा प्रस्तुत गर्दै आफ्नै पहिचान बनाउन सफल भएका छन्।
हालसम्म चेतनका “सेभेन”, “साउण्ड”, “स्पिड”, “स्टेज” र “स्टेप” गरी पाँच वटा गीतिक एल्बम सार्वजनिक भइसकेका छन्, जसले उनलाई संगीतप्रेमीहरूको माझ लोकप्रिय बनाएको छ। उनका गीतहरू युवापुस्तादेखि सबै उमेर समूहमा रुचाइएका छन्।
सांगीतिक कार्यक्रमका लागि चेतनले नेपालभित्र मात्र नभई विदेशमा पनि आफ्नो प्रस्तुति दिइसकेका छन्। उनले जापान, दुबई र बैंककजस्ता अन्तर्राष्ट्रिय शहरहरूमा नेपाली संगीतको प्रतिनिधित्व गर्दै प्रशंसा बटुलिसकेका छन्।
दशौं धादिङ महोत्सवमा उनको उत्कृष्ट प्रस्तुति संगीतप्रेमीहरूका लागि एक यादगार अनुभव बनेको छ, र आगामी दिनमा उनका नयाँ गीत तथा कार्यक्रमप्रति दर्शकहरू थप उत्साहित देखिएका छन्।























