बैशाख १, हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नं. १८ स्थित वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाले आईतबार नववर्ष २०८३ सालको अवसरमा शुभकामना आदान–प्रदान तथा अर्न्तक्रिया कार्यक्रम गरेको छ । सहकारीले हर्नामाडीमा अवस्थित विद्यालय,वन समूह, टोल विकास संस्था लगायत विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुको उपस्थितीमा कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै ज्योति माविका विद्यालय व्यवस्थापन समिति एवं हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलले नव वर्षसंगै नयाँ उत्साह, जोश र जाँगरका साथ यस क्षेत्रको विकासमा सबै सरोकारवालाहरु लाग्न जरुरी रहेको बताउनुभयो ।
ज्योति सामुदायिक वन उपभोक्ता समूह ठूलोदमारका अध्यक्ष रामबाबु खतिवडाले नयाँ वर्ष २०८३ सालको शुभकामना व्यक्त गर्दै यस हर्नामाडीको मुटु गुम्बाडाँडाको पर्यटन प्रवद्र्धन, विकासका साथसाथै संरक्षणको अति आवश्यक भएको भनाई व्यक्त गर्नुभयो । ज्योति वनकै क्षेत्राधिकारभित्र रहेको गुम्बाडाँडाको विकासमा विगतदेखि हातेमालो गरिरहेकोमा अबका दिनमा उक्त स्थानमा स्थानीयदेखि प्रदेश हुँदै केन्द्र सरकारले विशेष महत्वका साथ हेरिनुपर्ने धारणा राख्नुभयो ।
यसैगरी, गोरक्षनाथ सामुदायिक वन उपभोक्ता समूह हेटौंडा १८ फुर्केचौरका अध्यक्ष रोशन थापाले पनि हर्नामाडी समग्र कृषि र पर्यटनको संभावना बोकेको क्षेत्र भएकोले यसको विकास आजको आवश्यकता रहेको औंल्याउनुभयो ।

कार्यक्रममा रामधुनीकाली सामुदायिक वन उपभोक्ता समूह, हेटौंडा १८, बड्कुलेका अध्यक्ष अमृत दोर्जे लामाले पनि नेपालकै दोस्रो ठूलो ढुंगाको बुद्धको मूर्ति स्थापना हुँदा हर्नामाडीको छुट्टै पहिचान बन्न सफल भएको उल्लेख गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अरुण कुमार खतिवडाले हर्नामाडी क्षेत्रफलको आकारमा सानो भएतापनि मकवानपुर जिल्लामा महत्व राख्ने स्थानका रुपमा परिचित रहेको बताउनुभयो । विगतमा अन्तर्राष्ट्रिय मूर्ति कार्यशालादेखि चित्रकलाका साथै नेपालकै दोस्रो अग्लो ढुंगाको बुद्ध मूर्ति निमार्णले समेत यस स्थानको महत्व कति छ? भन्ने विषय सबैसामु प्रष्ट देखिएको उहाँको भनाई छ ।
अध्यक्ष खतिवडाले यतिका महत्व बोकेको यस स्थानको समग्र विकासमा स्थानीय सरकारबाट समन्वयकारी भूमिका नभएकोमा चिन्ता व्यक्त गर्नुभयो । स्थानीय सरकारले मनगढन्ते र आफूखुसी काम गर्नेगरेको आरोप लगाउँदै उहाँले उक्त अभ्यासबाट वडाको दिगो विकासको कुनै खाका नभएको बताउनुभयो । आफ्नो मन्तव्यको अन्तमा सहकारी अध्यक्ष खतिवडाले नववर्ष २०८३ सालले यस क्षेत्रका सम्पूर्ण संघसंस्थाहरुको विकास एवं समस्याहरुलाई साझा ढंगबाट सामूहिक रुपमा छलफल गरी हल गर्ने वातावरणको सुरुवात हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
शुभकामना तथा अर्न्तक्रिया कार्यक्रमकै अवसरमा सहकारीले चैत २४ देखि २८ गतेसम्म्म आयोजना गरेको निशुल्क ५ दिने सेल्फ मेकअप तथा व्युटिसियन तालिममा सहभागी ११ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो । अनुष्का ब्युटिपार्लर चन्द्रपुर रौतहटकी संचालक अनुपमा खतिवडाले सहभागीहरुलाई निशुल्क तालिम प्रदान गर्नुभएको थियो । तालिम लाभदायक रहेको सहभागीहरुले बताएका छन् ।

सहकारी उपाध्यक्ष माधवनारायण तुलाधारले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सल्लाघारी टोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर सिलवाल,आरामपुर रमिते टोल विकास संस्थाका अध्यक्ष आत्मराम ढुंगाना, शेयर सदस्य शंकर न्यौपाने लगायतले मन्तव्य राख्नुभएको थियो । सहकारीका
कोषाध्यक्ष इमान बहादुर थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा भोर्ले टोल विकास संस्थाका अध्यक्ष अनिला अधिकारी, भुटनदेवि टोल विकास संस्थाका अध्यक्ष जनक सुवेदी, गुप्तेश्वरी टोल विकास संस्थाका अध्यक्ष मंगलकुमार श्रेष्ठ, सहकारीका लेखा समिति सदस्य ऋषिप्रसाद कट्टेल, ऋणउपसमिति सदस्यद्धय रामशरण बानियाँ र दुर्गा खतिवडा,सदस्यहरु प्रेमबहादुर बराल, चन्द्रकुमारी ढुंगाना, कमलादेवी खड्का लगायत शेयरसदस्यहरु एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

























