बागमती: हावाहुरीसहित परेको चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिका–१ भैसेमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३२ का अजय पहरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
चट्याङ लागेर अर्का एक जना घाइते भएका छन्। चैत १७ गते साँझ करिब ६:३० बजे बागमती नदीबाट माछा मारेर घर फर्किने क्रममा स्थानीय दुई जनालाई चट्याङ लागेको प्रहरीले जनाएको छ। चट्याङ लागेर वर्ष करिब ३७ का उज्वल थोकर र पहरी घाइते भएका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। घाइते उज्वल थोकरलाई उपचारका लागि हेटौंडातर्फ पठाइएको छ भने उनको अवस्था मध्यम रहेको बताइएको छ।
गम्भीर घाइते भएका अजय पहरीलाई उपचारका लागि झुरझुरे स्थित सान्भि पोलिक्लिनिकमा ल्याए पनि थप उपचारका लागि हेटौडा पठाउने क्रममा राति ११:२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

























