बागमती गोल्डकप प्रिम्याच कन्फ्रेन्स: उपाधी जित्नेमा दुवै टोली ढुक्क

बागमती: मकवानपुरको आठौँ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ। सहिद स्मृति रंगशालामा हुने खेलमा उपाधिका लागि चित्लाङ एफसी, काठमाडौं र बागमती युवा क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको फाइनल प्रवेश गरेको दुवै टोलीले उपाधि जित्ने दावी गरेका छन् । शुक्रबार भएको प्रिम्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमले उपाधि जित्ने बताएका हुन् ।

फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित प्रिम्याच कन्फ्रेन्समा बोल्दै चित्लाङ एफसीका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टोली उपाधि आफ्नो टिमले जित्ने बताएका छन् ।
अनुभवी तथा विदेशी खेलाडीको संयोजनले टोली बलियो बनेको उल्लेख गर्दै उनले फाइनलमा पनि आक्रामक खेललाई निरन्तरता दिने बताए।

बागमती युवा क्लब सर्लाहीका प्रतिनिधि विश्वराज लामिछानेले उपाधि जित्न भोको रहेको बताए। विभिन्न जिल्लामा हुने प्रतियोगितामा निरन्तर सहभागी हुँदै आएकोले खेलाडीहरू अनुभवी रहेको पनि उनले दाबी गरे।

चित्लाङका खेलाडी सकल रेग्मीले आफुहरु जितकै लागि खेल्ने बताए। टिममा अनुभवी खेलाडीहरु रहेको कारण गेम जितेर ट्रफी उचाल्ने उनले बताए। बागमतीका सुजन गुरुङले यो पटक टिमलाई उपाधि दिलाउने गरि खेल्ने बताए। यसअघि खेलमा भएका केही कमजोरीहरुलाई सुधार्ने पनि उनले बताए।

प्रतियोगिताका संयोजक रहर सिं थिङले फाइनल प्रवेश गरेको दुवै टिमलाई बधाई दिदैं उपाधि जित्न शुभकामना दिए।

प्रतियोगितामा चित्लाङ एफसीले एपीएफलाई हराउँदै क्वाटरफाइनलमा, क्वाटरफाइनलमा मछिन्द्रलाई र सेमिफाइनलमा नवजनजागृति युवा क्लब सिमरालाई ५–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। बागमती युवा क्लबले भने आयोजक बागमती खेलकुद विकास समितिलाई हराउँदै क्वाटरफाइनल, क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड र सेमिफाइनलमा फ्रेन्ड्स क्लब काठमाडौंलाई ट्राइब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो।

फाइनल खेल शनिबार दिउँसो ३ बजे हुनेछ। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.