मकवानपुर: हेटौंडा उपमहानगरपालिका–१९, दारिमटारस्थित पूर्व–पश्चिम राजमार्गमा तीन ठुला सवारीहरु आपसमा ठोकिँदा ३१ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको चालक साइडको टायर पड्किएपछि बस अनियन्त्रित भई, हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको थियो । सो ट्रक पनि अनियन्त्रित भई काठमाडौंबाट बारातर्फ आउँदै गरेको ना ७ ख १७७४ नम्बरको तेल बोकेको खाली ट्याङ्करसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ३१ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य तथा मध्यम रहेको छ । घाइतेहरुलाई उद्धार गरी हेटौंडा अस्पताल र चुरेहिल अस्पताल हेटौंडामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटिएका छन् । अहिले दुर्घटनाग्रस्त सवारी साधन हटाउने काम भइरहेको जनाएको छ ।

























