बागमती: मकवानपुरको बागमती गाउँपालिकाले पुरुष फुटबल टिम तयार पार्न खेलाडी छनौट गर्न सुरु गरेको छ। शुक्रबारबाट सहिद स्मृति रंगशालामा खेलाडी छनौट गर्न सुरु गरिएको हो।

गाउँपालिकाले आइतबारसम्म वडा नम्बर १ देखि ९ सम्मका १५ देखि २१ वर्ष उमेर समूहका खेलाडीहरु छनौट गर्नेछन् । शुक्रबार बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बल, बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङ, उपाध्यक्ष मुक्ति लामा, सदस्य आकाश लोप्चन र प्रमुख प्रशिक्षक मेघराज केसीको उपस्थितिमा खेलाडी छनौट गर्न सुरु गरिएको हो।

आफ्नै लगानीमा रंगशाला तयार पारिसकेको बागमतीले व्यवसायीक रुपमा खेलाडी उत्पादन गर्न एकेडेमी पनि सञ्चालन गर्दैछ। बागमती गाउँपालिकाले खेलकुदमा प्राथमिकता राख्दै आइरहेको छ। केही समय अघि बागमती गाउँपालिका राष्ट्रिय खेलकुद विकास परिषद्को ६२ औं वार्षिकोत्सबमा देशभरकै उत्कृष्ट स्थानीय तहको रुपमा पुरस्कृतसमेत भएको थियो। बागमती गाउँपालिकाले अब आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकपको तयारी पनि थाल्दैछ।


























