बागमती: मकवानपुरको बागमती गाउँपालिकाले पुरुष फुटबल टिम तयार पार्न खेलाडी छनौट गर्ने भएको छ। मंगलबार एक सूचना जारी गर्नुहुँदै बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले पालिकाले खेलाडी छनौट गर्नेबारे जानकारी गराउनुभएको हो।

खेलाडी छनौट कार्य यहि असोज ३,४ र ५ गते सहिद स्मृति रंगशालामा सञ्चालन हुनेछ। वडा नम्बर देखि ९ सम्मका १५ देखि २१ वर्ष उमेर समूहका खेलाडीहरु सहभागी हुन पाउनेछन् । गाउँपालिकाभित्रका गुणस्तरीय, प्रतिस्पर्धी तथा क्षमतावान खेलाडीहरूको क्षमता विकास गर्ने उद्देश्यले फुटबल टिम निर्माणका लागि खेलाडी छनोट कार्यक्रम आयोजना गर्न लागेको प्रशासकीय अधिकृत दर्जीले बताउनुभयो ।
आफ्नै लगानीमा रंगशाला तयार पारिसकेको बागमतीले व्यवसायीक रुपमा खेलाडी उत्पादन गर्न एकेडेमी पनि सञ्चालन गर्दैछ। बागमती गाउँपालिकाले खेलकुदमा प्राथमिकता राख्दै आइरहेको छ। केही समय अघि बागमती गाउँपालिका राष्ट्रिय खेलकुद विकास परिषद्को ६२ औं वार्षिकोत्सबमा देशभरकै उत्कृष्ट स्थानीय तहको रुपमा पुरस्कृतसमेत भएको थियो। बागमती गाउँपालिकाले अब आठौं संस्करणको राष्ट्रिय बागमती गोल्डकपको तयारी पनि थाल्दैछ।






















