हर्नामाडीमा वन डढेलो व्यवस्थापन सचेतना र्‍याली

हेटौंडा/चैत ०२ गते । वन डढेलो व्यवस्थापन सप्ताहको दोस्रो दिन सोमबार हेटौंडा उपमहानगरपालिका वडा नं. – १८ मा सचेतना र्‍याली गरिएको छ । सव डिभिजन वन कार्यालय हर्नामाडीको आयोजना एवं पाँच वटा सामुदायिक वन समूहहरुको सहभागितामा संयुक्त रुपमा सचेतना र्‍याली गरिएको हो ।

‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता, तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ सुरु भएको र्‍याली एक्लेखेत, फुर्केचौर, ठूलोदमार, रामधुनी हुँदै भोर्ले चोकमा आएर कोणसभा गरिएको थियो ।

कार्यक्रममा बोल्दै सव डिभिजन वन कार्यालय हर्नामाडीका प्रमुख प्रदिप अर्यालले उपभोक्ता तहबाटै सचेतना जारी रहे देशैभर सक्रिय रुपमा वन डढेलो व्यवस्थापन हुने बताउनुभयो । हालसम्म २३ हजार सामुदायिक वन समूहहरु हस्तान्तरण भइसकेको र उक्त सामुदायिक वनहरुले वन व्यवस्थापन, संरक्षण, सदुपयोगका साथै डढेलो सम्बन्धि सचेतनाको कार्यहरु गर्दै आईरहेको उहाँको भनाई छ ।

प्रमुख अर्यालले वन डढेलो जस्तो जघन्य अपराध गर्नेलाई वन ऐन २०७६ को दफा ४९ खण्ड घ अनुसार ३ वर्षसम्मको कैद र ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको बताउनुभयो । साथै वन डढेलो लगाउनेको सुचना दिने व्यक्तिलाई पुरस्कृत गरिने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा ज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामबाबु खतिवडा गोरक्षनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रोशन थापा, रामधुनी काली सामुदायिक वन उपभोक्ताका अध्यक्ष अमृत दोर्जे लामा, पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामबाबु मुक्तान र आँपखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रुद्र प्रसाद दंगालले मन्तव्य राख्नुभएको थियो ।

नेपालमा वर्षेनी हुने वन डढेलोका कारण वन जंगल, वन्यजन्तु, चराचुरुङ्गी तथा मानविय र भौतिक क्षति हुने गरेको छ । डढेलोको जोखिम न्यूनिकरण गर्न सरकारले हरेक वर्ष चैत १ गतेदेखि ७ गतेसम्म डढेलो सम्बन्धि सचेतना कार्यक्रम गर्दै आईरहेको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मकवानपुरमा पनि सचेतना र्‍याली, गोष्ठी, तालिम एवं अग्निरेखा निमार्ण लगायतका कार्यक्रमहरु गरि मनाईन्छ ।

कार्यक्रममा सव डिभिजन वन कार्यालयका रेञ्जरहरु सुजन खत्री, जमुना तिमल्सिना, रविना खतिवडा र ठेग कुमारी अधिकारी, सामुदायिक वन समूहका प्रतिनिधि, उपभोक्ता, ठूलोदमार प्रहरी चौकीका प्रतिनिधि, डिभिजन वन कार्यालयका वन सुरक्षा शाखाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.