२०४६ पछिका सबै काण्डको छानबिन हुन्छ : सभापति लामिछाने

मकवानपुर: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूको सरकार बनेपछि २०४६ सालपछिका सबै भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्ने बताएका छन्।

सोमबार बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित चुनावी सभामा लामिछानेले नबिराएकालाई नडराउन आग्रह गर्दै बिराएकालाई नछाड्ने चेतावनी दिए। ‘जसले बिराएको छैन, उसले डराउनुपर्दैन,’ उनले भने, ‘जसले बिराएको छ, त्यसलाई हामी छोड्दैनौँ। किनकि सुशासन हाम्रो पहिलो प्राथमिकता हो।’

सभापति लामिछानेले आगामी दिनमा शिक्षकहरूलाई राजनीतिक दलको भोट बैंक बन्न नदिने स्पष्ट पारे। उनले संगठनको नाममा भोट बैंक बनाउने प्रवृत्तिको अन्त्य गर्ने दाबी गरे। शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त राख्नुपर्ने बताउँदै उनले शिक्षा नीति विद्यार्थीको हितमा बन्नुपर्ने प्रस्ट पारे। त्यो जिम्मेवारी रास्वपा सरकारले लिने उनको भनाइ थियो।

यस्तै, लामिछानेले आफ्नो पार्टीको सरकार बनेपछि किसानलाई मल, बिउ र बजारको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाए। सम्बोधनका क्रममा सभापति लामिछानेले हेटौँडा सिमेन्ट उद्योगको सन्दर्भ उठाउँदै उद्योगहरूलाई राजनीतिक भर्ती केन्द्र बनाइँदा समस्या भएको जिकिर गरे।

‘योग्य र क्षमतावान नेतृत्व आए उद्योग नाफामा जान्छन्,’ उनले भने। मागेर धनी हुने सपना आफूहरूले नदेखेको भन्दै उनले ‘गरेर खाने देश’ बनाउनका लागि सिंगो रास्वपा लागिपरेको दाबी गरे। यसका लागि उनले रास्वपाको चुनाव चिह्न घण्टीमा मतदान गर्न आग्रह गरे।

सभालाई पार्टीका नेता रमेश प्रसाईं, मकवानपुर-१ का उम्मेदवार प्रकाश गौतम र मकवानपुर-२ उम्मेदवार प्रशान्त उप्रेती लगायतले सम्बोधन गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.