राष्ट्रिय कार्यसम्पादन मूल्याङ्कनमा बागमती गाउँपालिका जिल्लामा प्रथम

बागमती: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा आ.व. २०८१/०८२ का लागि सम्पन्न गरिएको कार्यसम्पादन मूल्याङ्कनमा बागमती गाउँपालिकाले ६६.३९ अंक प्राप्त गर्दै मकवानपुर जिल्लाका १० स्थानीय तहमध्ये प्रथम स्थान हासिल गरेको छ। आयोगले सार्वजनिक गरेको आधिकारिक तथ्यांकअनुसार विभिन्न कार्यसम्पादन सूचकहरूमा उत्कृष्ट नतिजा प्रस्तुत गर्दै बागमती गाउँपालिकाले जिल्ला प्रथम भएको गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो।

Screenshot

उक्त मूल्याङ्कनमा मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले ६५.९३ अंकसहित दोस्रो स्थान प्राप्त गरेको छ भने कैलाश गाउँपालिकाले ६२.११ अंक हासिल गर्दै तेस्रो स्थान ओगट्न सफल भएको छ। गत आर्थिक वर्ष ०.५ कमले दोस्रो हुन सफल बागमती यो पटक प्रथम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बताउनुभयो ।

शीर्ष स्थानमा परेका यी स्थानीय तहहरूले वित्तीय अनुशासन, बजेट तथा कार्यक्रम कार्यान्वयन क्षमता, आन्तरिक राजस्व परिचालन, योजना व्यवस्थापन, पारदर्शिता, उत्तरदायित्व र सुशासनजस्ता सूचकहरूमा उल्लेखनीय प्रगति देखाएका छन्।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रत्येक आर्थिक वर्षमा स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन गरी सोही आधारमा वित्तीय समानीकरण तथा प्रोत्साहन अनुदान वितरण गर्ने व्यवस्था गरेको छ। यस सन्दर्भमा उत्कृष्ट अंक प्राप्त गर्नु केवल प्रतिष्ठाको विषय मात्र नभई संस्थागत सुदृढीकरण र वित्तीय अवसर विस्तारसँग समेत प्रत्यक्ष रूपमा जोडिएको मानिन्छ।
बागमती गाउँपालिकाका अध्यक्षले यो उपलब्धि सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, विषयगत शाखा, सामुदायिक संस्थाहरू तथा स्थानीय नागरिकहरूको सामूहिक प्रतिबद्धता र इमान्दारिताको परिणाम भएको बताउनुभयो। “हामीले सुशासन, पारदर्शिता र परिणाममुखी विकासलाई प्राथमिकतामा राख्दै योजनाबद्ध रूपमा काम गर्दै आएका छौँ। यही निरन्तर प्रयासले जिल्लामै उत्कृष्ट स्थान हासिल गर्न सम्भव भएको हो,” उहाँले भन्नुभयो। प्रमुख प्रशासकीय अधिकृतले आगामी दिनमा सेवा प्रवाहलाई अझ गुणस्तरीय र प्रभावकारी बनाउँदै प्राप्त उपलब्धिलाई दिगो बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय तहबीच स्वस्थ प्रतिस्पर्धा र उत्तरदायी प्रशासनको संस्कार विकास गर्न यस्तो मूल्याङ्कन महत्वपूर्ण मानिन्छ। बागमती गाउँपालिकाले हासिल गरेको यो सफलता समग्र मकवानपुर जिल्लाकै लागि प्रेरणादायी उदाहरण बनेको छ भने अन्य स्थानीय तहहरूलाई पनि कार्यसम्पादन सुधारतर्फ अग्रसर हुन सकारात्मक सन्देश दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.