बागमतीमा फागुन १ गते प्रथम बागमती खुला मिनी म्याराथन प्रतियोगिता हुँदै

मकवानपुरको बागमती गाउँपालिकामा पहिलोपटक प्रथम बागमती खुला मिनी म्याराथन (दौड) प्रतियोगिता आयोजना हुने भएको छ। गाउँ कार्यपालिकाको प्रयोजन तथा बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो।

प्रतियोगिता आगामी २०८२ फागुन १ गते शुक्रबार बिहान ठीक ८ बजे सुरु हुनेछ। दौड वडा नम्बर ८ शान्तिपुरस्थित फापरबारी चेकपोष्टबाट प्रारम्भ भई वडा नम्बर ४ झुरझुरे स्थित बागमती गाउँपालिकाको कार्यालय गेटमा समापन हुनेछ।

मिनी म्याराथन प्रतियोगितामा १६ वर्ष उमेर पूरा गरेका जिल्लाभित्र तथा बाहिरका पुरुष धावकहरू सहभागी हुन पाउनेछन्। सहभागी हुन इच्छुक धावकहरूले रु. २०० दर्ता शुल्क बुझाई २०८२ माघ २९ गते अपरान्ह २ बजेसम्म बागमती गाउँपालिकाको कार्यालयमा उपस्थित भई नाम दर्ता गराउनुपर्ने गाउँपालिकाद्वारा जारी सूचना उल्लेख छ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी धावकले प्रतियोगिता हुने दिनभन्दा अगाडि नै आफू शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त रहेको पुष्टि गर्ने मेडिकल रिपोर्ट वा स्व:घोषणापत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। साथै दौड सम्बन्धी रनिङ रुट, दूरी, हाइड्रेसन स्टेसन, मेडिकल सहायता तथा अन्य प्राविधिक नियमहरूको जानकारी वार्मअप/ब्रिफिङको समयमा प्रदान गरिने जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने धावकहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुनेले रु. २५ हजार, द्वितीय हुनेले रु. १५ हजार र तृतीय हुनेले रु. १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै पाँच जनालाई सान्त्वना पुरस्कारस्वरूप रु. २ हजारका दरले प्रदान गरिनेछ। विजेताहरूलाई नगद पुरस्कारसँगै ट्रफी, मेडल तथा प्रमाणपत्र पनि सोही दिन प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजक समितिका अनुसार प्रत्येक धावकलाई बिब नम्बर अङ्कित टिसर्ट उपलब्ध गराइनेछ भने दौड सम्पन्न भएपछि धावकका लागि पोस्ट-रेस सेवा तथा आधारभूत सुविधा समेत व्यवस्था गरिनेछ। सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै दौडका क्रममा हेडफोन, इयरफोन तथा ब्लुटुथ उपकरण प्रयोग गर्न निषेध गरिएको छ।

गाउँपालिकाले उक्त प्रतियोगिता खेलकुद विकास, स्वास्थ्य प्रवर्द्धन तथा युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको जनाएको छ। आयोजकले सबै धावकलाई नियमको पालना गर्दै अनुशासित र सुरक्षित रूपमा प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ।

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.