बागमती: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय हेटौडाका प्रमुख बिमला पोख्रेलको अध्यक्षतामा बागमती गाउँपालिकामा विद्यालय क्यान्टिन तथा स्थानीय खाद्य व्यवसायसँग सम्बन्धित सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि रूपमा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान उपस्थित रहनुभएको थियो।
विशेष अतिथिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी रहनुभएको थियो भने अतिथि सम्मानमा पन्कज दाहाल, सार्थक घिमिरे सहित अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।

कार्यक्रममा बागमती गाउँपालिका भित्रका विभिन्न विद्यालयका क्यान्टिन सञ्चालक, विद्यालय कार्यालय सहयोगी, किराना तथा होटल व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूलाई गुणस्तरीय, सुरक्षित र स्वच्छ खाद्य सामग्रीको उत्पादन तथा वितरणका बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमले विद्यालय तथा स्थानीय बजारमा उपलब्ध खाद्य सामग्रीको गुणस्तर अभिवृद्धि, स्वच्छता प्रवर्द्धन तथा उपभोक्ता स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने विश्वास लिइएको छ।





















