हेटौंडा: अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हेटौंडामा एन्फा प्रेसिडेन्ट लिग सुरु भएको छ। बुधबारबाट हेटौंडा-६ स्थित गौरीटार रंगशालामा सुरु प्रतियोगितामा चित्लाङ फुटबल क्लब (काठमाडौं) ले विजयी सुरुवात गरेको छ।
प्रतियोगिताको उद्घाटन खेलमा चित्लाङले देउराली युथ क्लब (देउराली) लाई ४-१ गोलले हराएको हो। चित्लाङका लागि चन्दन कुमार दासले ३२ औं, लाहान सुब्बाले ४७ औं, विज्ञान खड्काले ४८ औं र मदन स्याङ्तनले ८८ औं मिनेटमा गोल गरे भने देउरालीका लागि रामचन्द्र वाजीले दोस्रो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा एक गोल फर्काए। प्लेयर अफ द म्याच चित्लाङका जय गुरुङ घोषित भए। उनले ५ हजार रुपैयाँ प्राप्त गरे।

यस्तै दोस्रो खेलमा विजय स्पोर्ट्स क्लब (कैलाली) र लालीगुराँस एसोसिएसन क्लब (कास्की) ले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ। प्लेयर अफ दि म्याच लालीगुराँसका सुरज जंग ठकुरी घोषित भए। उनले ५ हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगितामा गाईघाट फुटबल क्लब (उदयपुर), जनजागृती युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), काक्रेविहार युथ क्लब (सुर्खेत), नवजनजागृती (बारा), विजय स्पोर्ट्स क्लब (कैलाली), चित्लाङ फुटबल क्लब(काठमाडौं), हैरान्स क्लब (तनहुँ), टाइगर्स टिम टिकाताथल (दोलखा) र लालीगुराँस एसोसिएसन क्लब कास्की सहभागी छन् । प्रतियोगिता लिग कम नकआउट आधारमा सञ्चालन भइरहेको छ। प्रतियोगिता आगामी मंसिर २ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

























