बागमती गाउँपालिकाले तिन लाखसम्मको योजना वडा कार्यालयमार्फत कार्यान्वयन गर्ने

मकवानपुर, कार्तिक १४ । बागमती गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ देखि तीन लाख रुपैयाँसम्मका साना योजना सिधै वडा कार्यालयमार्फत कार्यान्वयन गर्ने नीति लागू गरेको छ। गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार पहिलो पटक यस्तो अभ्यास थालनीसँगै योजनाको सम्झौता, भुक्तानी र कार्यान्वयनका सम्पूर्ण प्रक्रिया सम्बन्धित वडा कार्यालयमै सम्पन्न गरिने भएको हो।

पालिका अध्यक्ष सर्केश घलानले वडा कार्यालयमार्फत योजना कार्यान्वयन गर्ने अभ्यास गाउँपालिकाको ऐतिहासिक कदम भएको उल्लेख गर्दै यसबाट स्थानीय तहमा उत्तरदायित्व, पारदर्शिता र जनसहभागिता बढ्ने विश्वास व्यक्त गर्नु भयो। “जनताको नजिकबाट योजना सञ्चालन हुँदा विकासका कामहरू छिटो, गुणस्तरीय र प्रभावकारी हुनेछन्।” वहाँले भन्नु भयो। साथै कर्मचारीहरुलाई नियमित जनताको सेवामा हाजिर हुन र फुर्सदको समयमा श्रम गर्न समेत सुझाउनु भएको थियो।

त्यस्तै उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिनाले पनि नयाँ अभ्यासले वडास्तरको क्षमता अभिवृद्धि गर्दै स्थानीय सरकारको सशक्तिकरणमा टेवा पुर्‍याउने बताउनु भयो। प्रमुख प्रशासकीय अधिकृत दर्जीले वडा कार्यालयहरूलाई योजना छनोट, कार्यान्वयन, अनुगमन र प्रतिवेदन व्यवस्थापनका सबै पक्षमा आवश्यक प्राविधिक सहयोग प्रदान गरिने जानकारी दिए। गाउँपालिकाले साना पूर्वाधार, सामाजिक विकास तथा सामुदायिक सेवा सम्बन्धी योजना यसै माध्यमबाट कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत दर्जीले बताउनु भयो।

सहभागीहरूले गाउँपालिकाको यो नयाँ अभ्यासले वडा तहमा स्वामित्व भावना र प्रशासनिक दक्षता बढाउने अपेक्षा व्यक्त गरेका छन्। यस नयाँ अभ्यासलाई व्यवस्थित र प्रभावकारी बनाउन शुक्रबार गाउँपालिका कार्यालयको सभा हलमा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा गाउँपालिकाअन्तर्गतका वडा कार्यालयका वडा अध्यक्ष, वडा सचिव, वडामा खटिएका प्राविधिक, गाउँपालिकाका विषयगत शाखा प्रमुख र कर्मचारीहरूको उपस्थिति रहेको थियो।

गाउँपालिका अध्यक्ष सर्केश घलानको सभाध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिनाको उपस्थिति रहेको थियो भने अभिमुखीकरण तथा सहजीकरण सत्र गाउँपालिकाका प्रशासन प्रमुख सार्थक घिमिरेले सञ्चालन गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.