बागमती: मकवानपुरको बागमती गाउँपालिकामा झुरझुरे युथ क्लबको आयोजनामा भएको `प्रथम झुरझुरे युथ फुटबल प्रतियोगिता´ को उपाधी ग्रामीण बहुउद्देश्यीय समाज ज्यामिरे, बागमती-५ ले जितेको छ। बुधबार भएको फाइनल खेलमा मुनस्टार युथ क्लब, बागमती-४ लाई ७-२ फराकिलो गोलअन्तरले हराउँदै ज्यामिरेले उपाधी जितेको हो।

बुधबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको फाइनल खेलमा सुरुवाती अग्रता भने मुनस्टारले बनाएको थियो। प्रतियोगितामा हरिहरपुरगढीको टिमलाई ३-१ गोलले हराउँदै बागमती-४ स्थित मुनस्टार युवा क्लब प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनलमा आयोजक झुरझुरे युथ क्लबलाई १-० गोलले हराउँदै बागमती-५ स्थित ग्रामीण बहुउद्देश्यीय समाज ज्यामिरे फाइनलमा प्रवेश गरेको थियो।

प्रतियोगिताको विजेता ज्यामिरेले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता मुनस्टारले २५ हजार रुपैयाँमा चित्त बुझाए। प्रतियोगिताका संयोजक सुदर्शन घिसिङको सभाध्यक्ष तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख अतिथ्यतामा भएको प्रतियोगिता समापन कार्यक्रममा बागमती-४ का वडाध्यक्ष दन्तलाल माझी, ५ का अध्यक्ष विजय कुमार भोलन, ७ का अध्यक्ष अध्यक्ष उत्तर बहादुर भोलन, एन्फा मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल र बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङ लगायतको आतिथ्यता रहेको थियो।
























