कात्तिक १, हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीमा रहेको मकवानपुर बाल विद्या सदनले शुक्रबार स्किल क्याम्पको आयोजना गरेको छ ।
विद्यालयले दशैं–तिहारको बिदाको समयलाई सदुपयोग गर्दै विद्यार्थीहरुलाई ब्यवहारिक, सिर्जनशील र जीवन उपयोगी सीप प्रदान गरिएको थियो । सोही ज्ञान र सिकाईबाट विद्यार्थीले निर्माण गरेका परम्परागत सामाग्री एंव आधुनिक बैज्ञानिक आविस्कारको स्किल क्याम्प मार्फत प्रदर्शनी गरिएको हो ।
असोज २२ गतेदेखि सुरु भएको उक्त क्याम्प अवधिभर विद्यार्थीहरुले परालको गुन्द्री, मकैको खोस्टाको चकटी,सालको पातको टपरी जस्ता परम्परागत सामाग्री निर्माण गर्न सिकेका थिए भने आधुनिक प्रविधि प्रयोग गरेर बनाइएका स्वचालित डस्टबिन, दृष्टिविहीनले प्रयोग गर्ने सेन्सर डिटेक्ट छडी, वेदर स्टेशन, एलपी ग्यास लिकेज पत्ता लगाउने अलार्म यन्त्र निमार्ण गर्न सिकेका थिए ।

प्रदर्शनीका क्रममा तिहारलाई लक्षित गरेर विद्यार्थीले निर्माण गरेका मैनबत्तीको बिक्रीवितरण समेत गरिएको थियो । जसका निम्ति विद्यालयले उनीहरुलाई बीउ पुँजी प्रदान गरिएको थियो । त्यस्तै, कक्षाकोठाबाट निस्किएको फोहोर कागजबाट नयाँ कागज बनाएका थिए भने कुहिने फोहोरलाई ब्यवस्थापन गर्न गड्यौंलासहितको कम्पोष्ट पिट निर्माण गरेका थिए । जस मार्फत विद्यार्थीहरूले जैविक फोहोर संकलन गरी मल उत्पादन गर्ने सीप सिकेका छन्।

पढाईसंगसंगै सीप सिकाईलाई निरन्तरता दिदै भविष्यमा उनीहरलाई आत्मनिर्भर बनाउन विद्यालयले एक कक्षा, एक सीप सिद्धान्तअनुसार शिक्षणक्रम अघि बढाएको विद्यालयका प्रधानाध्यापक सुदिपराज गिरीले जानकारी दिनुभयो । सोही प्रयोगको सुरुवातमा विद्यालय परिसरमै धानखेतीदेखि तरकारी लगायत बाली विद्यार्थीहरुकै सहभागीतामा गरिँदै आएको उहाँको भनाई छ । विद्यार्थीहरुले आफैंले रोपाईँ गरेर उत्पादन भएको धानबाट चामल बनाई विद्यालयकै खाजामा प्रयोग हुने गरेको छ भने विद्यालयमा आउने अतिथिलाई कोशेलीका रुपमा पनि प्रदान गर्ने गरिएको प्रधानाध्यापक गिरीले बताउनुभयो ।

विद्यालयले प्रदान गरेको सीप सिकाईले विद्यार्थीलाई किताबी ज्ञानमात्र होईन व्यवहारिक र उनीहरुलाई सानैबाट परिश्रमी बनाउन सहयोग गरेको छ । आफ्ना बालबालिकाले सीप सिकाईबाट निमार्ण गरेका सामाग्रीहरु देखेर अभिभावकहरु निकै खुशी भएका थिए । यस विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म हाल ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

























