बकैया: मकवानपुरको बकैया गाउँपालिकामा जारी प्रथम बकैया फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। शुक्रबार क्वाटरफाइनलका सबै खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो।
शुक्रबार भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा बागमती प्रदेश प्रहरीको टिमलाई ३-० गोलले हराउँदै आयोजक ए प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आयोजकको लागि सुजन तितुङले खेलको पहिलो हाफको पाँचौ, रोमन घलानले दोस्रो हाफको ३५ औँ मिनेट र रुपेश स्याङ्तनले दोस्रो हाफकै ४३ औं मिनेटमा एक-एक गोल गरे। खेलको म्यान अफ द म्याच आयोजकका सुरेश कुमाल घोषित भए।

सेमिफाइनल प्रवेश गरेको आयोजक ए ले अब फाइनल प्रदेशका लागि बिग ब्वाइज बागमतीसँग प्रतिस्पर्धा गर्नेछ। शुक्रबार मरिण गाउँपालिकाको टिम क्वाटरफाइनल खेल्न उपस्थित नभएपछि बिग ब्वाइजले सिधै सेमिफाइनलमा स्थान पाएको थियो। आयोजक ए र बिग ब्वाइज बीच शनिबार दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ। यस्तै पहिलो सेमिफाइनलमा शनिबार दिउँसो १ बजे आयोजक बी र हर्नामाडी एफसी बीच प्रतिस्पर्धा हुनेछ।
फाइनल खेल आइतबार हुनेछ। प्रतियोगिताको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।






















