बागमती: मकवानपुरको बागमती गाउँपालिकामा असोज ९ गतेदेखि १२ गतेसम्म आयोजना भएको ८ ए साइड बागमती भेट्रान्स पुरुष फुटबल प्रतियोगिताको उपाधी छिनोफानो भएको छ। मंगलबार वडा नम्बर ४ को टिमले ७ नम्बर वडाविरुद्ध दिएको उजुरी फिर्ता लिएसँगै उपाधी छिनोफानो गरिएको हो।

वाइसीएल बागमती गाउँपालिका कमिटीको आयोजनामा गत असोज १२ गते बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको फाइनल खेलमा उपाधीका लागि वडा नम्बर ४ र ७ को बिच प्रतिस्पर्धा भएको थियो। निर्धारित खेल समयमा ७ नम्बरले ४ नम्बरलाई ३-१ गोल गरेपनि नियमभन्दा बाहिर रहेर खेलाडीहरु खेलाएको दाबी गर्दै ४ नम्बरले आयोजकलाई उजुरी दिएको थियो।
वाइसीएल बागमतीका अध्यक्ष एवम् प्रतियोगिता संयोजक आकाश लोप्चनले भने `मगंलबार ४ नम्बरले ७ नम्बरविरुद्ध दिएको उजुरी फिर्ता भयो। दुवै टिमको खेल र प्रशिक्षकको उपस्थिति उजुरी फिर्ता लिएसँगै ७ नम्बरलाई विजेता गरियो। हामीले पुरस्कार पनि बुझायौँ।´ असोज १२ गते खेल सकिदा साँझ परेको र उजुरी आउँदा पुरस्कार वितरण गर्न नसकेको पनि उहाँले बताउनुभयो ।
प्रतियोगिताको विजेता ७ नम्बरको टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ उपविजेता ४ नम्बरले १० हजार रुपैयाँ प्राप्त गरेको छ।





















