माडागास्कर: पानी र बिजुलीको लामो समयदेखिको कटौतीविरुद्ध युवाहरूको नेतृत्वमा भएको प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिले आफ्नो सरकार विघटन गर्ने घोषणा गरेका छन्।
राष्ट्रपति एन्ड्री राजोएलिनाले सोमबार राष्ट्रका नाममा टेलिभिजनबाट सम्बोधन गर्दै भने, ‘सरकारका सदस्यहरूले उनीहरूलाई सुम्पिएको जिम्मेवारी पूरा नगरेको हामी स्वीकार गर्छौँ र माफी माग्छौँ।’
जेनजी प्रदर्शनहरूमा गत बिहीबारदेखि माडागास्करका सहरहरूमा हजारौँ युवा प्रदर्शनकारीहरू नारासहित सडकमा उत्रिएका थिए। यसमा कम्तीमा २२ जनाको मृत्यु भएको र १०० जना घाइते भएको बताएका छन्।
संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले प्रदर्शनलाई दबाउन सुरक्षा बलले ‘अनावश्यक बल’ प्रयोग गरेको भन्दै निन्दा गरेका छन् । यद्यपि, माडागास्करको विदेश मन्त्रालयले यो तथ्याङ्क ‘अफवाह वा गलत सूचनामा आधारित’ रहेको भन्दै राष्ट्रसंघको तथ्याङ्क अस्वीकार गरेको छ।





















