मकवानपुर: मकवानपुरको बागमती गाउँपालिकाले नेपालीहरूको महान् पर्व विजयादशमी तथा शुभ दीपावलीको अवसर पारेर ‘प्रथम बागमती अन्तरस्थानीय कर्मचारी फुटबल प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ। गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयले बुधबार विभिन्न स्थानीय तहलाई पत्राचार गर्दै प्रतियोगितामा सहभागिताका लागि औपचारिक निमन्त्रणा गरेको हो।

गाउँपालिकाले जारी गरेको पत्रअनुसार प्रतियोगिता २०८३ असोज २३ गतेदेखि २५ गतेसम्म बागमती गाउँपालिका–४, झुरझुरेस्थित शहीद स्मृति रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीका फुटबल टोलीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद रु. ५० हजार पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई रु. २५ हजार प्रदान गरिनेछ। यस्तै, विजेता तथा उपविजेता टोलीलाई मेडल, ट्रफी र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
बागमती गाउँपालिकाले प्रतियोगितामा सहभागिताका लागि हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका, बकैया गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका, खानिखोला गाउँपालिका (काभ्रेपलाञ्चोक), हरिहरपुरगढी गाउँपालिका र मरिण गाउँपालिका (सिन्धुली) लाई पत्राचार गरेको छ।
टिम दर्ताका लागि खेलाडी विवरण असोज २१ गते कार्यालय समयभित्र आयोजकसमक्ष बुझाइसक्नुपर्ने गाउँपालिकाले जनाएको छ।























