हेटौंडा,चैत ६ गते । हेटौंडा-१८, हर्नामाडिमा रहेको ज्योति सामुदायिक वन उपभोक्ता समूहले आज शुक्रवार अग्निरेखा निर्माण तथा सरसफाइ कार्यक्रम गरेको छ । वन डढेलो ब्यबस्थापन सप्ताह अन्तर्गत आयोजित अग्निरेखा निर्माण तथा सरसफाइ कार्यक्रमको सव डिभिजन बन कार्यालय हर्नामाडीका प्रमुख प्रदिप अर्यालले सुरुवात गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अर्यालले जसरी घरमा लाग्ने आगलागीले त्यहाँको सबै सम्पत्ति नष्ट हुन्छ त्यसैगरी वन डढेलोले यहाँ भएका प्राकृतिक तथा जैविक विविधता नष्ट भइ भविष्यमा ती वस्तुहरु लोप हुने खतरा रहेको बताउनुभयो ।
वन डढेलोले जलवायु परिवर्तन गरिरहेको बताउँदै प्रमुख अर्यालले त्यसको असरले अतिबृष्टी,अनाबृष्टि एंव खडेरी लगायत समस्या निम्ति रहेकाले डढेलो रोकथामको पहिलो तथा प्रभावकारी उपाय उपभोक्ता तहबाट अग्निरेखा निर्माणको कार्य नै भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै ज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामबाबु खतिवडाले समूहले वन डढेलो रोकथामको प्रयास स्वरुव उपभोक्ताहरुको सहभागीतामा हरेक वर्ष अग्निरेखा निर्माण तथा झाडी सरसफाई कार्यक्रम गरिरहेको बताउनुभयो ।
वन डढेलो रोकथाम गर्नकै लागी समूहले गतवर्ष चैत बैशाख र जेठ तीन महिनाका लागि अग्निदस्ता समेत राखिएको र यसवर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिईने अध्यक्ष खतिवडाले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणको प्रशारण लाइन बिस्तारका क्रममा निर्माण भएको बाटोमा समूहले अग्निरेखा निर्माण गरेको हो ।
कार्यक्रममा सब डिभिजन वन कार्यालय हर्नामाडीका प्राविधिक बिज्ञान प्रसाद दाहाल,समूहका कोषाध्यक्ष गीता बिश्वकर्मा, सदस्यहरु एवं उपभोक्ता सदस्यहरुको सहभागिता रहेको थियो ।

वि.सं. २०५० सालमा स्थापना भएको यस समूहको वनको क्षेत्रफल ४९८ हेक्टर रहेको छ भने उक्त क्षेत्रफलमा फैलिएको वनलाई ५ वटा ब्लकमा बिभाजन गरिएको छ । गतवर्ष मात्रै समूहले गुम्बाडाँडामा सभाहलसहितको आफ्नै कार्यालय भवन निर्माण सम्पन्न गरिसकेको छ ।

























