मकवानपुर: मकवानपुर क्षेत्र नम्वर–२ मकवानपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेती विजयी भएका छन् । नेकपा एमालेका महेश बर्तौलालाई हराउँदै उप्रेती विजयी भएका हुन् ।
उप्रेतीले ३० हजार ५० मत पाएर निर्वाचित भएका हुन् । आईतवार निर्वाचन आयोगले उप्रेतीलाई प्रमाणपत्र प्रदान गरेको छ। उप्रेतीका निकटतम् प्रतिस्पर्धी बर्तौलाले १८ हजार ४ सय २४ मत मात्रै पाए । तेस्रोमा रहेका नेपाली कांग्रेसका उम्मेद्वार बुद्द लामाले १५ हजार ५६ मत पाउँदा नेकपाका लवशेर विष्टले १२ हजार ४ सय ९२ मत पाए भने उज्यालो नेपालका प्रविन स्याङ्तनले ६ हजार २ सय ३७ मत पाए।
को हुन उप्रेती ?

२५ वर्षका उप्रेती निर्वाचित भएसँगै देशकै कान्छो सांसद बन्ने भएका छन् । १० जेठ २०५७ सालमा मकवानपुरमा जन्मिएका प्रशान्त उप्रेती पेसाले पर्यटन उद्यमी हुन्।
उनी हाल काठमाडौँ विश्वविद्यालय, शिक्षा संकायमा नेतृत्व तथा व्यवस्थापन विषयमा शिक्षा शास्त्रमा स्नातकोत्तर अध्ययनरत छन्। उनले नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्टबाट बाट बैचलर अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट सन् २०२५ मा पूरा गरेका हुन्।
यसअघि उले ग्लोबल कलेज अफ म्यानेजमेन्ट, काठमाडौँ बाट व्यवस्थापन विषयमा १०ं२ तह सन् २०१८ मा र युनाइटेड सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुल, मकवानपुर बाट एसएलसी सन् २०१६ मा उत्तीर्ण गरेका हुन्।
युवा उमेरमै होटल र पर्यटन क्षेत्रमा गरेको कार्यले उनलाई स्थानीयस्तरमा परिचित गराएको छ। पर्यटन व्यवस्थापनमा स्नातक गरेका उनले पढाइ र व्यवसाय एकसाथ अगाडि बढाएका युवा हुन्।
हाल स्नातकोत्तर अध्ययनरत प्रशासन पढाइ र काम गर्दै गर्दा राज्यको नीतिसँग सन्तुष्ट हुन सकेनन् र राजनीतिमा जोडिए । देशको नीति सही भएपछि आम नागरिकको जीवन सहज हुने उनको विश्वास छ । यही विश्वास लिएर उनी संसदीय चुनावमा होमिएको बताउँछन्।

























