बागमती: बागमती गाउँपालिका-३ स्थित गढनमा दोस्रो संस्करणको ल्होछार कप फुटबल प्रतियोगिता सुरु भएको छ। वडा नम्बर ३ को प्रायोजन र ल्होछार कप फुटबल प्रतियोगिता व्यवस्थापन समितिको आयोजनामा सुरु प्रतियोगिता शुक्रबार बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले उद्घाटन गर्नुभएको छ।

शुक्रबार गढनस्थित सहिद स्मृति खेल मैदान सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक `ए´ लाई ५-० फराकिलो गोलले हराउँदै बागमती-१ स्थित एफसी गुम्बा टोलले विजयी सुरुवात गरेको छ। योसँगै आयोजक बाहिरिएको छ। अब एफसी गुम्बाले प्रदेश प्रहरी क्लब हेटौंडासँग सेमिफाइनलका लागि २७ गते प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको फाइनल माघ १ गते हुनेछ। प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने र उपविजेता ३० हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगिताका संयोजक समीर लामाको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा बागमती-३ का वडाध्यक्ष कमान सिं पाख्रीन, वडा नम्बर १ का कार्यवाहक अध्यक्ष हस्त बहादुर थिङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङ, उपाध्यक्ष मुक्ति लामा र फुटबल प्रशिक्षक मेघराज केसी लगायतको आतिथ्यता रहेको थियो।






















