मकवानपुर: मकवानपुरको बकैया गाउँपालिकाको फुटबल टिम ललितपुरको बागमती गाउँपालिकामा जारी छैठौं अध्यक्ष कप अन्तरपालिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीवार भएको सेमिफाइनलमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका `ए´लाई २-० गोलले हराउँदै बकैया फाइनल प्रवेश गरेको हो।
बकैया खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङका अनुसार बकैयाको जीतमा विमल भोलन र कप्तान अभिषेक भोलनले १-१ गोल गरे। खेलको म्यान अफ द म्याच बकैयाका डिफेन्डर तारा नेगी घोषित भए।
बिहीवार नै भएको अर्को सेमिफाइनलमा ललितपुरको गोदावरी नगरपालिकाले कोन्ज्योसोम `बी´ टिमलाई ३-१ गोलले हराउँदै फाइनल प्रवेश गरेको छ। फाइनल प्रवेश गरेको बकैया र गोदावरी बीच शुक्रबार दिउँसो १ बजे उपाधीका लागि प्रतिस्पर्धा हुनेछ।
यस अघि समूह चरण अन्तर्गत बुधबार भएको खेलमा बकैयाले गोदावरी नगरपालिकालाई ३–१ गोलअन्तरले हराएको थियो।
विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख पाउनेछन् ।





















