बागमती: मकवानपुरको बागमती गाउँपालिकास्तरिय प्रधानाध्यापकहरुको बैठक सम्पन्न भएको छ। सोमबार पालिकाको सभाहलमा गाउँपालिकास्तरिय प्रधानाध्यापकहरुको बैठक भएको हो।

बैठकमा गत बैठकको समीक्षा, विद्यार्थी भर्ना तथा पठनपाठन एवं शैक्षिक क्यालेण्डरको कार्यान्वयन सम्वन्धमा, संस्थागत् विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति र भर्ना शुल्क सम्वन्धमा लगायत छलफल भएको छ।

यस्तै शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फाराम पेस गर्ने सम्वन्धमा, सञ्चित विरामी विदा प्रमाणित गरि अद्यावधिक तथा व्यवस्थित राखे सम्वन्धमा, आईइएमआईएसमा पूर्ण विवरण अद्यावधिक तथा विवरण संशोधन सम्वन्धमा, आ.व. २०८१/०८२ ०६१/०८२ को लेखापरीक्षण प्रतिवेदन पेस गर्ने सम्वन्धमा, विद्यालय सुधार योजना निर्माण गरि पेस गर्ने सम्बन्धमा, सिकाई चौतारी लर्निङ पोर्टलको प्रयोग गर्ने सम्बन्धमा, शिक्षक डायरीको उपयोग सम्वन्धमा, विद्यालयको वार्षिक कार्यतालिका पेस गर्ने सम्वन्धमा, शिक्षण सुधार योजना अनिवार्य भर्ने भराउने सम्बन्धमा, नतिजा सार्वजनिक पूर्व आईइएमआईएसमा अङ्क प्रविष्ट नगरेको सम्बन्धमा, विद्यालय बाहिर रहेका रहेका वालवालिकाहरुको तथ्याङ्क सङ्कलन फाराम भरि पेस गर्ने सम्वन्धमा र १६ औं मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्वन्धमा र कक्षा १ मा तामांङ भाषाको पाठ्यपुस्तक पठनपाठन सम्बन्धमा लगायत एजेन्डामाथि छलफल भएको छ।

कक्षा १ मा तामाङ भाषाको पाठ्यपुस्तक पठनपाठन अनिवार्य गर्ने भएको छ। नेपालको संविधान, २०७२ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदान गरेको अधिकारअनुसार यस बागमती गाउँपालिका अन्तर्गत तामाङ मातृभाषा बोल्ने बालबालिकाहरूको बहुलता रहेका विद्यालयहरूमा मातृभाषामा आधारित शिक्षण-सिकाइ प्रवर्द्धन गर्ने नीतिगत लक्ष्यअनुरूप २५ विद्यालयमा कक्षा १ देखि तामाङ भाषा पठनपाठन गर्न लागेको हो। यसका लागि शिक्षकहरुलाई आवश्यक तालिमसमेत सञ्चालन गरिसकेको छ।
यस्तै नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/१२/२२ गतेको बैठकले २०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय अनुसार १५ गते भन्दा अगाडि कुनै पनि शैक्षिक संस्थाहरूले विद्यार्थी भर्ना वा सोसँग सम्बन्धित आवेदन खुलाउने, प्रवेश परीक्षा सञ्चालन, भर्ना वा यस सम्बन्धी अन्य कुनै पनि कार्यहरू नगर्ने, नगराउने र उक्त पत्रानुसार मिति २०८३/०१/२१ गतेदेखि पठनपाठनको कार्य अनिवार्य रुपमा सुरु गर्ने भन्ने निर्देशन सहित सबै विद्यालयहरुले सो निर्णयको अनिवार्य कार्यान्वयन गर्ने भनि आजको बैठकबाट सर्वसम्मतिले निर्णय भएको छ ।
बैठकमा गाउँपालिकाका अध्यक्ष सर्केश घलान, सामाजिक विकास समितिका संयोजक कमानसिं पाख्रीन, शिक्षा शाखा प्रमुख प्रकाश चन्द, जनता माविका प्रअ वसन्त राई लगायत विद्यालयका प्रअहरुको उपस्थिति रहेको थियो।

























