मकवानपुर: मकवानपुरको भीमफेदी गाउँपालिका–६ एघारघुम्तीस्थित भीमफेदी–कुलेखानी–काठमाण्डौ सडक खण्डमा हाईस गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।
शनिबार बिहान करिब ११:२० बजे काठमाण्डौबाट हेटौंडातर्फ आउँदै गरेको बा ३ ख ७८७६ नम्बरको हाईस गाडी ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायव निरीक्षक प्रेम तामाङको कमाण्डमा ६ जनाको टोली घटनास्थलमा खटिएको थियो।
गाडीमा चालकसहित १० जना सवारमध्ये ३ जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि हेटौडा अस्पताल पठाइएको छ भने अन्य यात्रुहरू सामान्य उपचारका लागि आफैं गएका छन्।

घाइतेहरू:
१. उदयपुर त्रियुगा नगरपालिका–११, गाईघाटका ८६ वर्षीय गोरे राई — टाउकोमा गम्भीर चोट (गाडीबाट हाम फाल्दा पछाडिको टायरले कुल्चिएको)
२. सोही स्थानकी ६२ वर्षीया हर्कमाया राई — निधार र दाहिने हातमा मध्यम चोट
३. उदयपुर त्रियुगा नगरपालिका–१०, गाईघाटका शम्भु कटुवाल (३५/४०) — टाउकोमा मध्यम चोट
दुर्घटनामा गाडीमा क्षति पुगेको छ भने सडक भने अवरुद्ध भएको छैन। दुर्घटनापछि हाईस चालक सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।

























