मकवानपुरको मनहरीमा लागुऔषध प्रयोकर्ताद्वारा प्रहरीमाथि आक्रमण, प्रहरीले चलायो गोली

मकवानपुर: मकवानपुरको मनहरी गाउँपालिका वडा नं-१ मकरीमा लागुऔषध सेवन तथा झै-झगडा नियन्त्रण गर्न पुगेको प्रहरी टोलीमाथि आक्रमण भएको छ । आक्रमणमा एक प्रहरी अधिकारी घाइते भएका छन् भने आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा एक युवक समेत घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी पुष्कर बोगटीका अनुसार घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनामा संलग्न हेटौँडा उपमहानगरपालिका वडा नं. १२ रमनटारका २४ वर्षीय सन्जय जिम्बा र सोही स्थानका ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिएको हो।

प्रवक्ता बोगटीका अनुसार बुधबार राति करिब ८:५० बजे उक्त स्थानमा लागुऔषध सेवन र झै-झगडा भइरहेको सूचना पाएपछि पदमपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक (असई) दिलबहादुर तामाङको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

प्रहरीले घटनास्थलमा पुगेर सोधपुछ गर्ने क्रममा असई तामाङमाथि अचानक बियरको बोतल, खुकुरी र बन्चरो प्रहार गरिएको थियो । आक्रमणबाट असई तामाङको दुबै हातमा चोट लागी मध्यम घाइते भएको प्रहरीले जनाएको छ ।

आक्रमणपछि आत्मरक्षाका लागि असई तामाङले आफूसँग रहेको पेस्तोलबाट एक राउन्ड गोली चलाउँदा हेटौँडा उपमहानगरपालिका–१२ हात्तिगौडाका १९ वर्षीय सनिस तितुङको पेटको दाहिने भागमा गोली लागेको प्रहरीले जनाएको छ ।

घटनामा घाइते भएका प्रहरी अधिकारी र तितुङलाई उपचारका लागि हेटौँडास्थित सीएमसी चुरेहिल अस्पतालमा भर्ना गरिएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीको कमाण्डमा थप प्रहरी टोली खटिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुई जना र गोली लागेका तितुङ यसअघि लागुऔषध, ज्यान मार्ने उद्योग तथा चोरीसम्बन्धी विभिन्न आपराधिक घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्त बोगटीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.