बागमतीमा वेबसर्फर नेटको सेवा तीन दिनदेखि अवरुद्ध, सेवाग्राही मारमा

बागमती। मकवानपुरकाे बागमती गाउँपालिकाका वडा नं. १ र २ मा इन्टरनेट सेवा प्रदायक वेबसर्फर नेट को सेवा विगत तीन दिनदेखि अवरुद्ध हुँदा स्थानीय सेवाग्राही मारमा परेका छन्। निरन्तर सेवा अवरुद्ध भइरहँदा कम्पनीको बेवास्ता र लापरबाहीप्रति सेवाग्राहीले तीव्र असन्तुष्टि जनाएका छन्।
स्थानीयका अनुसार अनलाइन कक्षा, सरकारी कामकाज, बैंकिङ सेवा तथा व्यक्तिगत व्यावसायिक गतिविधि समेत प्रभावित बनेका छन्। “तीन दिनदेखि इन्टरनेट सेवा पूर्ण रूपमा ठप्प छ। पटक–पटक सम्पर्क गर्दा पनि कसैले फोन उठाउँदैन,” वडा नं. १ का एक सेवाग्राहीले गुनासो गर्दै भने, “सेवा किन अवरुद्ध भयो भन्नेबारे कम्पनीले कुनै सूचना वा आधिकारिक प्रतिक्रिया दिएको छैन।”
सेवाग्राहीहरूले कम्पनीको हेटौंडा शाखा कार्यालय तथा हात्तीसुँडे शाखामा पटक–पटक सम्पर्क गर्ने प्रयास गर्दा समेत फोन नउठाइएको र समस्या समाधानतर्फ कुनै पहल नगरिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार प्रत्येक महिना पटक–पटक तथा लामो समयसम्म सेवा अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।
“हामीले समयमै शुल्क तिर्छौं, तर सेवा भने नियमित पाइँदैन। यस्तो अवस्था ठगी सरह हो,” अर्का एक सेवाग्राहीले आक्रोश व्यक्त गरे। सेवाग्राहीहरूले कम्पनीले सेवा गुणस्तर सुधार नगरे वैकल्पिक सेवा प्रदायक रोज्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।
उक्त क्षेत्रमा सुविसु र एराेनेट जस्ता अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीले समेत सेवा प्रदान गर्दै आएका छन्।
यस विषयमा वेबसर्फर नेटका प्रतिनिधिसँग प्रतिक्रिया लिन प्रयास गरिए पनि सम्पर्क हुन सकेन। सेवा पुनः सुचारु गर्ने समयसीमा र अवरोधको कारणबारे कम्पनीले आधिकारिक जानकारी सार्वजनिक नगर्दा सेवाग्राही अन्योलमा परेका छन्।
स्थानीय सरोकारवालाले सम्बन्धित निकायले चासो दिई समस्या समाधानतर्फ पहल गर्नुपर्ने माग गरेका छन्। नियमित र गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्नु सेवा प्रदायकको दायित्व भएकाले यस्ता घटनाले उपभोक्ता अधिकारसम्बन्धी प्रश्नसमेत उठाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.