माघ ०४, हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नं.१८ स्थित हर्नामाडीको ठूलोदमारमा रहेको ज्योति सामुदायिक वन उपभोक्ताको ३२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभाको प्रमुख अतिथि एवं १८ नंं. वडा अध्यक्ष अनिल कुमार बानियाँले विरुवामा पानी हालेर उद्धघाटन गर्नुभयो ।
उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बानियाँले ज्योति सामुदायिक वन हर्नामाडीकै नमुना वन समूह रहेको उल्लेख गर्नुभयो । “ज्योतिमा जब रामबाबु खतिवडाले नेतृत्व लिनुभयो, तबदेखि यस समूह नमुनाका रुपमा स्थापित भएको छ, उहाँले भन्नुभयो–। बिगतका दिनहरुमा सामुदायिक वनमा भएका बेतिथिहरु अहिले हट्दै गएर प्रक्रियागत रुपमा चल्न सुरु गरेको भन्दै वडा अध्यक्ष बानियाँले त्यसको अगुवाई ज्योतीले नै गरेको बताउनुभयो । प्रमुख अतिथि बानियाँले पछिल्लो समय धेरै सामुदायिक वनहरुमा आर्थिक पारदर्शिता हुँदै गइरहेकोले स्थानीय तहले चित्त बुझाउने वातावरण बन्दै गएको भनाई राख्नुभयो । उहाँले समूहमा आर्थिक पारदर्शिता राख्ने टीमको निरन्तरता हुनुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं हर्नामाडी सब डिभिजन वन कार्यालयका प्रमुख प्रदिप अर्यालले सामुदायिक वनले आम्दानी भएको खण्डमा वन विकासमा कुल आम्दानीको २५ प्रतिशत नभई त्योभन्दाबढी खर्च गर्न सकिने बताउनुभयो । समूहको आर्थिक वर्ष २०८२÷०८३ को अनुमानित आय–व्ययमा वन्यजन्तु तथा चराचुरुङ्गीका लागि रिचार्ज पोखरी निमार्ण गर्ने विषय अत्यन्तै उत्कृष्ट रहेको उहाँको भनाई छ । ज्योतिले आफ्नौ सभाहलसहितको कार्यालय भवन निमार्ण गरेर आम्दानीको सहिसदुपयोग गर्न सफल भएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
यसैगरी, कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ हेटौंडाका अध्यक्ष शम्भुप्रसाद न्यौपानेले ज्योतिले आ.व. २०८२÷०८३ को अनुमानित आय–व्ययमा वन विकास, सामुदायिक विकास कार्यक्रम, विपन्न तथा गरिबी न्यूनिकरण लगायतका कार्यक्रमहरुलाई न्यायपूर्ण रुपमा बजेट बिनियोजन गरिएको बताउनुभयो । उहाँले उक्त बजेटमा समुदायलाई फाईदा हुने उत्कृष्ट कार्यहरु छनौट गरी समावेश गर्नपनि समूहलाई सुझाब दिनुभयो ।
साधारणसभाले समूहमा रिक्त रहेको पदाधिकारी तथा सदस्यहरुको पनि चयन गरेको थियो । समूहको सचिव, सहसचिव र दुई सदस्य गरी चार जनालाई चयन गरेको हो । सचिवमा रुपा विश्वकर्मा, सहसचिवमा प्रमिला थापा, सदस्यहरुमा लक्ष्मी राना मगर र भवानी दुलाललाई चयन गरिएको हो ।

साधारणसभाका अवसरमा हालसालै भारतको आसाम गुहाटीमा भएको फुलकन्ट्याक्ट क्योकुशिन कराँते प्रतियोगितामा हर्नामाडीबाट सहभागी भएर विभिन्न पदक जित्न सफल चार जना खेलाडीहरुलाई नगदसहित सम्मान गरिएको थियो । उक्त प्रतियोगितामा १७ वर्षमूनिको महिलातर्फको खेलमा रेश्मा थापा प्रथम, ज्योति लुङ्बा द्धितिय, १७ बर्षमूनिको पुरुषतर्फको खेलमा रिदम थापा प्रथम र ६० केजीतर्फ रोहित थापा तृतीय हुन सफल भएका थिए । उनीहरुलाई क्रमश प्रथम हुनेलाई रु. दुई हजार÷दुई हजार ,द्धितिय हुनेलाई एक हजार पाँच सय र तृतीय हुनेलाई एक हजार नगदसहित सम्मान गरिएको थियो ।
ज्योतिको आ.व.२०८२÷०८३ को लागि ९८ लाखबढि अनुमानित आय–व्यय
यसैबिच, ज्योति सामुदायिक वनले आर्थिक वर्ष २०८२/०८३ का लागि ९८ लाख ५४ हजार रुपैयाँ बराबरको अनुमानित आय–व्यय प्रस्तुत गरेको छ । समूहका अध्यक्ष रामबाबु खतिवडाद्धारा प्रस्तुत आय–व्ययमा वन विकास, सामुदायिक विकास, गरिबी न्यूनिकरण लगायतका कार्यक्रमहरुमा डढेलो नियन्त्रण कार्यक्रम, अग्निपथ निमार्ण, थिनिङ तथा झाडी सरसफाई कार्यक्रम, रिहो बुद्ध गुम्बाको बुद्धमूर्ति निमार्णको लागि सहयोग, काठ गोदाम घर, दाहसंस्कारका लागि चाहिने दाउरा घर निमार्ण, महिला सशक्तिकरण कार्यक्रम, तालिम, लक्षित वर्गमा अनुदान सहयोग, गुम्बाडाँडा पर्यापर्यटन विकासका लागि सहयोग, रिचार्ज पोखरी निमार्ण, विपन्नलाई खाद्यान्न सहयोग, सामुहिक आयआर्जन, उपभोक्ता राहत कोष स्थापना , खेलकुद सहयोग लगायत कार्यक्रम समेटिएको छ ।

समूहका अध्यक्ष खतिवडाले यस आर्थिक वर्षदेखि उपभोक्ता सदस्यता नविकरण शुल्कलाई ५० रुपैयाँबाट बढँउर १ सय रुपैयाँ पु¥याईने बताउनुभयो । नियमित रुपमा नविकरण गर्ने उपभोक्ता सदस्यका परिवारको सदस्य मृत्यु भएको खण्डमा समूहका तर्फबाट ३ हजार रुपैयाँ नगद वा जिन्सी राहतस्वरुप सहयोग गरिने र दाहसंस्कारका लागि निशुल्क दाउरा पनि उपलब्ध गराउने बजेटमा उल्लेख छ ।
यसैगरी, कोषाध्यक्ष गीता विश्वकर्माले आ.व.२०८१/०८२ मा १ करोड ४८ लाख ७६ हजार ८ सय ६ रुपैयाँको आय–व्यय प्रस्तुत गर्नुभयो । समूहले उक्त आ.व.मा समूहको सभाहलसहितको भवन निमार्ण, थिनिङ, झाडी सरसफाई, सामुदायिक विकास कार्यक्रम, डढेलो नियन्त्रण कार्यक्रम, संस्थागत सहयोग लगायतहरु कार्यक्रमहरु गरिएको थियो ।
समूहका उपाध्यक्ष रेखा खतिवडाले स्वागत गर्नुभएको कार्यक्रममा समूहका सल्लाहकार एवं वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अरुण कुमार खतिवडा, लेखा समिति संयोजक इमान बहादुर थापा, रामधुनी काली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमृतदोर्जे योञ्जन, गोरक्षनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रोशन थापा, सल्लाघारी टोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर सिलवाल लगायतले मन्तव्य राख्नुभएको थियो । 
समूहका अध्यक्ष रामबाबु खतिवडाको अध्यक्षतामा सम्पन्न साधारणसभामा ठूलोदमार प्रहरी चौकीका प्रमुख मुकेश कुमार गिरी, समूहका संस्थापक अध्यक्ष शिवबहादुर रिजाल, पूर्व अध्यक्ष प्रेम बहादुर बराल, रिहो बुद्ध गुम्बाका अध्यक्ष बादल भुलुन, हर्नामाडी सव डिभिजन वन कार्यालयका प्राविधिक विज्ञान प्रसाद दाहाल, वैदिक वानप्रस्थ आश्रम गुरुकुलका शिक्षक कृष्ण प्रसाद गर्तौला लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि एवं उपभोक्ता सदस्यहरुको उपस्थिति रहेको थियो ।























