मकवानपुर: मकवानपुरको बागमती गाउँपालिका-३ स्थित गढनमा आयोजना भएको दोस्रो ल्होछार कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १ स्थित गुम्बाटोल एफसीले जितेको छ। बिहीवार सहिद स्मृती मैदानमा भएको फाइनल खेलमा आयोजक गढन `बि´ लाई २-० गोलले हराउँदै गुम्बाटोलले उपाधि जितेको हो।

पहिलो हाफ र दोस्रो हाफमा १-१ गोल गर्दै गुम्बाटोलले उपाधि जितेका हुन् । विजेता गुम्बाटोलले ६० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजकले ३० हजार प्राप्त गरेको छ।
बागमती-३ को प्रायोजन तथा ल्होछार कप सञ्चालन समितिको आयोजनामा पुस २५ गतेदेखि सुरु प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो।
प्रतियोगिताका संयोजक समीर लामाको सभाध्यक्षता तथा बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समापन कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, बागमती-३ का वडाध्यक्ष कमान सिं पाख्रीन, वडा नम्बर १ का कार्यवाहक वडाध्यक्ष हस्त बहादुर थिङ्, एन्फा मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल, बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङ, उपाध्यक्ष मुक्ति लामा र प्रतियोगिताका सल्लाहकार रोजल लामा लगायतको आतिथ्यता रहेको थियो।























