ज्योति वनको अभिमूखिकरण तालिम सम्पन्न

 

पुष ३०/हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १८ हर्नामाडीस्थित ज्योति सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको दुई दिने अभिमूखिकरण तालिम मंगलबार सकिएको छ । समूहले आर्थिक वर्ष २०८२/०८३ को बार्षिक कार्यक्रम अन्तर्गत गरिबी न्यूनिकरण सम्वन्धि कार्यक्रम अनुरुप समूहमा आवद्ध ५ वटा महिला कृषक समूहका लागि वन संरक्षण,सम्वद्र्धन तथा सीप विकास सम्बन्धि दुईदिने अभिमूखिकरण तालिम गरिएको हो ।

अभिमूखिकरण तालिममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य रामहरी चौलागाई र मकवानपुर जिल्ला कोषाध्यक्ष बलराम अधिकारीले नेपालमा वनको अवस्था, वन ऐन, वन विकास गुरुयोजना, वन नीति साथै सामुदायिक वन सुरुवात तथा सामुदायिक वनबाट गर्न सकिने जिविकोपार्जनका साथै उत्पादनमूलक व्यवसाय लगायतका विषयमा जानकारी गराउनुभयो ।

त्यसैगरी महिला कृषक समूहहरु कसरी आत्मनिर्भर हुने ? के कस्ता उत्पादनबाट छोटो समयमा राम्रो आम्दानी लिन सकिन्छ ? समूहको आयआर्जनमा टेवा पुग्छ लगायतका विषयमा पनि अभिमूखिकरण तालिममा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नगर समितिका अध्यक्ष शम्भु प्रसाद न्यौपानेले यहाँ सिकेका विषयहरुलाई व्यवहारमा लागु गरेर जीवनपयोगी बनाउन सहभागी महिलाहरुलाई आग्रह गर्नुभयो ।

ज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामबाबु खतिवडाले सामुदायिक वनको कुल आम्दानीको झण्डै ३५ प्रतिशत गरिबी न्यूनिकरण कार्यक्रममा खर्च गर्नुपर्ने कार्ययोजना अनुरुप यस वर्षको पहिलो कार्यक्रम महिला कृषक समूहका लागि अभिमूखिकरण तालिम गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार महिला समूहले माग गरेको आयआर्जनमूलक कार्यको लागि वन समूहले पहिलो प्राथमिकताका साथ कार्यक्रम अगाडी लैजाने बताउनुभयो ।

तालिममा ज्योति महिला कृषक समूह, अन्नपूर्ण महिला कृषक समूह, लालीगुराँस महिला कृषक समूह, मिलिजुली विपन्न महिला कृषक समूह र प्रगतिशिल महिला कृषक समूहबाट ५/५ जना महिलाहरुको सहभागिता रहेको थियो भने वन समूहका पदाधिकारी, सदस्य लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.