बागमती गाउँपालिकामा पहिलो पटक राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको नियमावली पारित

बागमती, मकवानपुरको बागमती गाउँपालिकाको स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिले विद्यालयस्तरको खेलकुद संरचनालाई संस्थागत र दिगो रूपमा सुदृढ गर्न लक्षित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, २०८२ का लागि प्रतियोगिता सञ्चालन, व्यवस्थापन तथा सहभागिता सम्बन्धी नियमावली पहिलो पटक सर्वसम्मतिले पारित गरेको छ।

गाउँपालिकाको सभा हलमा शुक्रबार सम्पन्न बैठकबाट नियमावली पारित गरिएको हो। आयोजक समितिका संयोजक रहर सिंह थिङको अध्यक्षतामा बसेको बैठकमा गाउँपालिका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, सामाजिक विकास संयोजक कमान सिंह पाख्रिन, खेलकुद विकास समितिका पदाधिकारीहरू, विद्यालयका प्रधानाध्यापक, खेलकुद शिक्षक, प्रशिक्षक तथा सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो। बैठकले पुस ११, १२ र १३ गते आयोजना हुने प्रतियोगिताका लागि सम्पूर्ण संरचना, व्यवस्थापन र नियमावलीलाई औपचारिकता दिएको छ।

गाउँपालिका अध्यक्ष घलानले नियमावली पारित हुनु बागमती गाउँपालिकाको खेलकुद संरचना सुदृढीकरणतर्फको महत्वपूर्ण मोड रहेको बताउँदै विद्यालयस्तरमै खेल संरचना मजबुत बनाउने दीर्घकालीन दृष्टिकोणलाई यसले संस्थागत आधार प्रदान गरेको उल्लेख गर्नुभयो। यसले स्थानीय खेल प्रतिभाको पहिचान, विकास र राष्ट्रिय तहसम्मको पहुँच विस्तार गर्न प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० (पाँचौं संशोधन) मा आधारित नियमावली तयार गरिएको छ। प्रतियोगितासँग सम्बन्धित विषयहरुलाई थप स्पष्ट र निर्देशिकामा नसमेटिएका तर आवश्यक नियमहरुलाई समावेश गरी नियमावली तयारी गरिएको संयोजक थिङले जानकारी दिनु भयो।वहाँका अनुसार, नियमावली पारित भएसंगै खेल सञ्चालनका अस्पष्टता तथा विवादका सम्भावना न्यून हुने, निर्णयहरू निष्पक्ष र तथ्यआधारित हुने र व्यवस्थापन अझ प्रभावकारी बन्नेछन्।

विद्यालयको अनुरोधअनुसार सहभागिता दर्ताका लागि जारी गरिएको २१ दिने समयसीमा अतिरिक्त ३ दिन थप गर्दै मंसिर २९ गतेसम्म फाराम बुझाउने अन्तिम मिति निर्धारित गरिएको छ। आयोजकका अनुसार, यस निर्णयले विद्यालयहरूलाई सहजतापूर्वक खेलाडी दर्ता गर्न सहयोग पुग्नेछ।

पारित नियमावलीले प्रतियोगितामा समावेश हुने खेल, इभेन्ट संरचना, खेलाडी दर्ता प्रक्रिया, पहिचान सत्यापन प्रणाली, अनुशासन, स्वास्थ्य सुरक्षादेखि उजुरी प्रक्रियासम्मका सबै प्रावधानलाई विस्तृत र स्पष्ट ढङ्गले परिभाषित गरेको छ। भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो, उसु र फुटबल (ऐच्छिक खेल) गरी दर्जनौँ प्रतिस्पर्धात्मक इभेन्टहरू समावेश गरिएको छ। खेलाडीको पहिचानका लागि जन्मदर्ता वा नागरिकता अनिवार्य गरिएको छ भने गलत विवरण, उमेर जालसाजी वा कागजपत्र मिलावट हुने विद्यालयमाथि कडा कारबाहीको व्यवस्था गरिएको छ।

नियमावली अनुसार, रेफ्री तथा प्राविधिक टोलीको निर्णय खेलमैदानमा अन्तिम मानिनेछ, सुरक्षा उपकरण तथा एकरूप पोशाक अनिवार्य हुनेछ, खेल समयमा उपस्थित नभएका टोलीलाई वाक् ओभर  प्रदान गरिनेछ, र डोपिङ, मदिरा तथा लागुऔषध सेवनमा शून्य सहनशीलता नीति लागू हुनेछ। स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा प्राथमिक उपचार केन्द्र प्रतियोगिताभर निरन्तर उपलब्ध रहनेछ।

आचारसंहिताका प्रावधानहरू राष्ट्रिय खेलकुद प्रशासनका मानकअनुसार व्यवस्थित गरिएकाको संयोजक थिङले बताउनु भयो।  खेलाडी, प्रशिक्षक, शिक्षक तथा विद्यालय प्रतिनिधिले शिष्टता, मर्यादा, खेल भावना र जिम्मेवारीपालना अनिवार्य रूपमा गर्नुपर्नेछ। रेफ्रीमाथि दबाब, आक्रामकता, गालीगलौज, अराजकता वा असहमति–आधारित विवादलाई कडाइका साथ कारबाही गरिनेछ। उजुरी प्रक्रिया ३० मिनेटभित्र प्रमाणसहित दर्ता गर्नुपर्नेछ।

प्रतियोगिताको अङ्क गणना तथा पुरस्कार प्रणालीलाई पनि स्पष्ट गरिएको छ। भलिबल, कबड्डी, एथलेटिक्स, मार्शल आर्ट, फुटबल लगायतका सबै खेलमा प्राप्त कुल अङ्कका आधारमा विद्यालयहरूलाई क्रम निर्धारण गरिनेछ। उत्कृष्ट विद्यालयलाई राष्ट्रपति रनिङ्ग शिल्ड, नगद पुरस्कार, ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट छात्र–छात्रालाई विशेष सम्मान दिइनेछ। साथै, निर्देशिका अनुसार स्वर्ण तथा रजत विजेता खेलाडी मात्र जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन योग्य हुने व्यवस्था पनि यथावत् रहनेछ।

पारित नियमावलीसँगै बागमती गाउँपालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई पहिलो पटक पूर्णरूपमा नियमित, नियन्त्रित र मापदण्ड–आधारित खेल शासन प्रणाली अन्तर्गत ल्याएको छ, जसले प्रतियोगिताको गुणस्तर, निष्पक्षता र विश्वसनीयतामा थप सहयोग पुग्ने आयोजकले अपेक्षा गरिएको छ। साथै यसले स्थानीय तहमा खेलकुद प्रतियोगितालाई स्पष्ट मार्गदर्शन प्रदान गर्दै प्रतियोगितालाई अझ अनुशासित, पारदर्शी र व्यवस्थित बनाउने विश्वास आयोजक समितिले व्यक्त गरेको छ।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, २०८२ का लागि प्रतियोगिता सञ्चालन, व्यवस्थापन तथा सहभागिता सम्बन्धी पारित  नियमावली यस्तो छ-बागमती गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०८२

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.