मकवानपुर: पुर्वी मकवानपुरको बागमती गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीय पूर्वाधार विकास विभागबाट बजेट सुनिश्चित भएको छ।

गाउँपालिकाका अध्यक्ष सर्केश घलानसहित सबै सरोकारवालाको पहलमा करिब १० करोड रुपैयाँ लागत अनुमान भएको भवन निर्माण प्रक्रिया अगाडि बढ्ने भएको हो।
उक्त भवन नेपाल सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा निर्माण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बताउनुभयो । सेवाप्रवाहलाई अझ प्रभावकारी र सुदृढ बनाउनका लागि विनियोजित बजेटअनुसार छिट्टै टेन्डर प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ।
स्थानिय सेवा, योजना तथा विकास कार्यलाई एकै स्थानबाट सुव्यवस्थित तरिकाले सञ्चालन गर्न भवनले महत्वपूर्ण भूमिका खेल्ने अधिकृत दर्जीको भनाई छ। बागमतीले पुर्वधार निर्माणलाई प्राथमिकता दिदै काम गर्दै आइरहेको छ।

























